अन्नपूर्णमा काँग्रेसबाट डमबहादुर पुन उठ्ने

  • ११ चैत्र २०७३, शुक्रबार
  • 3573 पटक पढिएको

म्याग्दी, १० चैत । अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट जिल्ला सदस्य एवँ महाधिवेशन प्रतिनिधी क्या. डमबहादुर पुन भिड्ने भएका छन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा घोरेपानीका पर्यटन व्यवसायी समेत रहेका पुनलाई गाउँपालिका प्रमुख उम्मेद्वार बनाउन त्यसभेगका कार्यकर्ताले निर्णय गरेका हुन् । लामो समय भारतीय सेनामा कार्यरत पुन अवकाशपछि जिल्लाको उत्तरीभेगको पर्यटन प्रबद्र्धन, शिक्षा, स्वास्थ्यको पहुँच अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बिहिबार शिखमा सम्पन्न अगुवा कार्यकर्ताको भेला तथा आमसभाले पुनलाई सर्वसम्मत रुपमा गाउँपालिकाको प्रमुख बनाउने निर्णय गरेको आमसभामा सहभागि महाधिवेशन प्रतिनिधी एवं युवा नेता भरत रकालले जानकारी दिए । ‘साविकको ८ वटै गाविसका सभापति सहित अगुवा कार्यकर्ताको उपस्थितिमा उहाँलाई गाउँपालिका प्रमुख बनाउने निर्णय भएको छ’, उनले भने, ‘अन्नपूर्णमा काँग्रेसको जनलहर देखिएको छ ।’

केहि दिन अघि बेनीमा सम्पन्न काँग्रेस जिल्ला कार्य समितिको वैठकले पुनलाई अन्नपूर्ण गाउँपालिकामा चुनाबी अभियान सञ्चालनका लागि संयोजकको जिम्मेवारी दिएको थियो । अन्नपूर्ण गाउँपालिका अन्र्तगत वडा नं ५का सभापति तीर्थ पुर्जाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका संयोजक पुनले उत्तरीभेगको यातायात, शिक्षा र पर्यटनको विकासको एजेण्डा काँग्रेससँग रहेको बताए ।

‘हामी हल्ला होइन र काम गरेर देखाउनेछौँ’, उनले भने । नेपाली काँग्रेसका जिल्ला कृष्ण बरुवालले स्वागत गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघका सहमहामन्त्री हरिहर शर्मा, नेविसंघका नेता भरत रकाल लगायतले परिर्वतनलाई संस्थागत गर्न काँग्रेसलाई जिताउनुपर्ने बताए । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका जिल्ला सदस्य रविन्द्र पुन, अनिल हिराचन, बेलबहादुर पुर्जा, टुकमान गर्बुजा, राम खड्का, लक्ष्मण गर्बुजा, आत्म तुलाचन लगायतले सम्बोधन गरेका थिए । भने कार्यक्रमको सञ्चालन सुरेन्द्र गुरुङले गरेका थिए ।