म्याग्दीमा बहत्तर वटा मतदानस्थल सिफारिस

  • १० चैत्र २०७३, बिहीबार
  • 3372 पटक पढिएको

म्याग्दी, १० चैत । आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा ७२ वटा मतदानस्थल तोकिएको छ । जिल्ला मतदान केन्द्र सिफारिस समितिले एक नगरपालिका र पाँच गाउँपालिकामा निर्वाचन गराउन सो मतदानस्थल निर्धारण गरेको हो ।

जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले मतदानस्थल बहत्तर वटा रहेपनि मतदाता संख्याको आधारमा मतदान केन्द्र निर्धारण गरिने जानकारी दिनुभयो ।

नगरपालिका र गाउँपालिकामा पायक पर्ने स्थानमा मतदानस्थल तोकिएको र मतदाताको सङ्ख्याका आधारमा १ हजार भन्दा बढी मतदाता भएमा एउटै मतदानस्थलमा पनि एक बढी मतदान केन्द्र तोकिने उहाँले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार, म्याग्दीको बेनी नगरपालिकामा सबैभन्दा धेरै १७ वटा मतदातस्थल तोकिएको छ । त्यसैगरि रघुगंगा गाउँपालिमा १४, धौलागिरि गाउँपालिकामा १२, मालिका गाउँपालिकामा ९, मंगला गाउँपालिकामा ७ र अन्नपूर्ण गाउँपालिकामा १३ मतदान स्थल तोकिएको छ ।

वि.स. २०७० सालको निर्वाचनमा ६८ वटा मतदानस्थल भएपनि यस वर्ष स्थानीय तह पनर्संरचना अनुसार पुनरावलोकन गर्दा ४ वटा बढी निर्धारण गरिएको हो । म्याग्दीमा आगामी बैशाखमा हुने निर्वाचनमा करिब ७२ हजार मतदाताले सहभागीता जनाउने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार जिल्लाबाट ७१ हजार ९ सय १२ जना मतदाताको नामावली अध्यावधिक गरि निर्वाचन आयोगमा पठाईएको छ ।

स्थानीय तहको निर्वाचनको लागि म्याग्दीमा १२ वटा राजनीतिक पार्टीले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुमा चहलपहल सुरु भएको छ ।

राजनीतिक दल चुनावी प्रचारप्रसारमा लागेका छन् भने निर्वाचन कार्यालयले पनि आवश्यक तयारी भइरहेको जानकारी दिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका र धौलागिरी गाउँपालिकाको केन्द्रको विवादले भने ति दुई गाउँपालिकाको कार्यालय समेत स्थापना हुन सकेको छैन् ।