यातायात ब्यवसायीको दादागिरी विरुद्ध बरंजाबासी आन्दोलीत

  • १० चैत्र २०७३, बिहीबार
  • 5499 पटक पढिएको

बेनी, ९ चैत । म्याग्दीको बरंजाका बासिन्दाहरुले यातायात ब्यवसायीको दादागीरी र एकाधिकार विरुद्ध बुधबार बेनीमा प्रर्दशन गरेका छन् ।

म्याग्दी जिप तथा बस व्यवसायी समिति अन्तरगतका ब्यवसायीले यात्रु र बोलेरो जिप चालकलाई कुटपिट गरेको भन्दै बरंजाका बासिन्दाहरु बेनीमा आएर प्रर्दशन गरेका हुन् । उनिहरुले ब्यवसायीको दादागिरी अन्त्य हुनुपर्ने, यातायात ब्यवसायीहरुबीच स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने, कुटपिट गर्ने व्यवसायीले माफी माग्नुपर्ने, समय अनुसार गाडी छुटाउनुपर्ने र भाडादर समायोजन गर्नुपर्ने माग गर्दै बेनीमा नाराबाजी गरेका थिए ।

विभिन्न माग लेखिएका प्लेकार्ड बोकेका बरंजा, बास्कुना र सुर्केमेलाका बासिन्दाहरुको ¥यालीले बजार परिक्रमा गरेपछि जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए । चैत ६ गते समितिका ब्यवसायी किसान जिसीले बेनी बरंजा रुटमा चल्ने बागलुङ भगवती यातायात प्रालि अन्तरगतको जिपका चालक र सोही जिपमा चढेका यात्रुलाई थामडाँडामा कुटपिट गरेको बरंजाका बासिन्दाको बताएका छन् ।

आन्दोलनकारी र म्याग्दी जिप तथा बस ब्यवसायी समितिका प्रतिनिधिहरुबीच जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा जिसीले गल्ती स्विकार गर्दै माफी मागेका थिए । बरंजाबासीको माग बमोजीम जिसीको माईक्रोबस बेनी बरंजा रुटमा नचलाउने, समितिले अर्को गाडीको व्यवस्था गर्ने र भाडादर समायोजन गर्ने विषयमा अर्को चरणमा छलफल गर्ने सहमती भएको छलफलमा सहभागी दर्पण रोकाले जानकारी दिनुभयो ।

पुर्व सभाषद् गमबहादुर श्रीसको नेतृत्वमा बरंजामा क्रियाशिल राजनितिक दल, युवा कल्व, आमा समूहका प्रतिनिधिहरु प्रर्दशनका लागि बेनी आएका थिए । म्याग्दीका ग्रामिण सडकमा चल्ने सवारी साधनले तोकीएको भन्दा महँगो भाडा लिने गरेको गुनासो भएपनि स्थानीय प्रशासनले भाडादर समायोजनमा ध्यान नदिएको सर्वसाधारणले बताएका छन् ।