मल्लाजमा पशु स्वास्थ्य शिवीर सम्पन्न

  • २३ जेष्ठ २०७५, बुधबार
  • 1575 पटक पढिएको

बेनी २३ जेठ । जलजला गाउँपालीका २ मल्लाजमा मंगलबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिवीर सम्पन्न भएको छ । गाउँपालीका अन्तरगतको पशु सेवा शाखाको आयोजनामा सम्पन्न एक दिने शिवीरमा २१६ घरधुरी कृषक लाभान्वित भएका छन् ।

दुई हजार ५७५ गाई, भैसी, गोरु, बाख्रा, कुखुरा, कुकुर, खरायो, हाँस, बिरालो र परेवाको स्वास्थ्य परिक्षण, परामर्श र औषधी उपचार सेवा दिइएको आयोजकले जनाएका छन् । शाखाका प्रमुख पशु चिकित्सक बिमल शर्मा, प्राबिधिकहरु नारायण आचार्य, दिपक गुरुङ, केशवकान्त सुवेदी, भोजराज रेग्मी, ईन्द्र सापकोटा लगायतले सेवा दिएका थिए ।

ग्रामिण क्षेत्रका कृषकहरुलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शाखाले मल्लाज सहित पाँच ठाउँमा शिवीर आयोजना गरेको छ । वडा अध्यक्ष गोविन्द खत्रीको अध्यक्षतामा सम्पन्न शिवीरको उद्घाटन कार्यक्रममा गाउँपालीकाका उपाध्यक्ष सिमा गर्बुजा पुन र ३ नम्बर वडाका अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले दूध, मासू र अण्डा उत्पादन वृद्धी गरी आत्मनिर्भर तथा कृषकको आयआर्जन वृद्धीका लागि प्राथमिकता दिइने बताए ।