म्याग्दी जेसीजलाई मोना जापानको स्वागत सम्मान
- १३ जेष्ठ २०७५, आईतवार
- 1693 पटक पढिएको
सन्दीप खत्री
म्याग्दी जेसीजको प्रतिनिधित्व गरेर जापान पुगेका शाखा अध्यक्ष कमल विश्वकर्मा र कार्यकारीणी उपाध्यक्ष भरत रकाललाई मोना जापानले स्वागत तथा सम्मान गरेको छ । प्रवासी म्याग्देलीहरुको साझा संगठन मोना जापानले आईतबार जेसीजको एसिया प्यासिफिकमा सहभागीता जनाउन गएका विश्वकर्मा र रकाललाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्माले मोना जापानले म्याग्दीको विकासका लागि गरेको कामको कारणले म्याग्दी प्रवासी संस्था मोनाहरुको नाम उच्चारण गर्दा गर्व गर्न लायक भएको बताए । प्रवासमा भएपनि देशका लागि एक असल नागरिकले पुरा गर्नु पर्ने भूमिका निर्वाह गरेको भन्दै विश्वकर्माले म्याग्दी जेसीज र मोना जापानवीच सहकार्य गर्दै जिल्लाको सामाजिक विकासमा लाग्ने प्रतिबद्धता जनाए । त्यसैगरी म्याग्दी प्रवासी नेपाली संघ मोनाका अध्यक्ष चक्र थापाले म्याग्दी जेसिजलाई जापानमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले मोनाले म्याग्दी सामाजिक काम तथा विकासका लागि म्याग्दी जेसीजसँग सहकार्य गर्न तत्पर रहेको बताए ।
मोना जापानका वरिष्ट उपाध्यक्ष सचिन श्रेष्ठको अध्यक्षता भुपेन्द्र बरुवालको स्वागत तथा सचिन श्रेष्ठको समापन मन्तव्य तथा काजि थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी सोही कार्यक्रमको अवसरमा म्याग्दी भ्रमण वर्ष २०७५ को प्रचार प्रसारका लागि म्याग्दी भ्रमण वर्ष लेखिएको टिसर्ट, स्टीकरहरु समेत म्याग्दी जेसीजको तर्फबाट मोना जापानका पदाधिकारी तथा सदस्यरुलाई प्रदान गरिएको थियो ।