जलजला गाउँपालीका मल्लाजमा स्वागत, मिलनचोकमा बिरोध

  • ४ चैत्र २०७३, शुक्रबार
  • सन्तोष गौतम
  • 3841 पटक पढिएको

बेनी ४ चैत । पर्वतको मल्लाज माझफाँटका बासिन्दाहरुले जलजला गाउँपालीका स्थापना भएकोमा बाजागाजाका साथ स्वागत गर्दै खुसीयाली मनाएका छन् ।

Mallaj (4)

जिल्ला तहबाट पाईने सेवा सुबिधा गाउँबाटै पाईने, विकास निर्माणमा पहुँच बढ्नुका साथै संबिधान कार्यान्वयनको अनुभव गर्न पाएको भन्दै मल्लाजबासीले खुसीयाली मनाएका हुन् । बाँसखर्क, माझफाँट, लेकफाँट, शालीजा, धाईरीङ, बनौ र नाग्लीवाङ गाविसलाई समेटेर जलजला गाउँपालीका घोषणा भएको छ ।

साविकको बाँसखर्क १, माँझफाँटको ८, ९, ६ र २ दुई, ७ र ३ तिन तथा १, २, ४ र ५ नम्बर वडालाई ४ नम्बर वडा कायम भएको छ । गाउँपालीकाको केन्द्र साविकको माझफाँट गाविसको कार्यालय कायम भएको छ । माझफाँटमा क्रियाशिल राजनितिक दल, संघ संस्था, आमा समूह, युवा कल्व र स्थानीय बासिन्दाले बाजागाजा सहित गाउँ परिक्रमा गरेर गाउँपालीकाको स्वागत गरेका स्थानीय नविन जिसीले बताउनुभयो ।

उहाँ धाईरीङ, बनौ, शालीजा र नाग्लीवाङका अगुवाहरुले भने जलजला गाउँपालीकाको केन्द्र मल्लाज अपायक पर्ने र सेवा सुबिधा लिन असहज हुने भएकाले मिलनचोकमा कायम गर्नुपर्ने माग राख्दै दवावमा उत्रिएका छन् । उनिहरुले बिहीबार कुश्मामा प्रर्दशन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

बिरोधका कारण बिहीबार हुने भनिएको गाउँपालीकाको कार्यालय उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको छ । यता म्याग्दीको धौलागिरी गाउँपालीकाको केन्द्र ताकम हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका धौलागिरी गाँउपालीका नागरीक आन्दोलन संघर्ष समितिको आन्दोलन जारी छ ।
रघुगंगा गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले मौवाफाँटलाई केन्द्र बनाउन समेटिएका गाउँमा भेटघाट अभियान चलाएका छन् । राज्य पुनसंरचनाका क्रममा धौलागिरीको केन्द्र मुना र रघुगंगाको केन्द्र पाखापानी कायम भएको छ ।

अन्य ठाउँमा कार्यलय सञ्चालन भएपनि दुई गाउँपालीकामा स्थापना हुन सकेको छैन् । सरोकारवालाहरुले निर्वाचित जनप्रतिनिधिहरुले बहुमतको आधारमा केन्द्र परिवर्तन गर्न सक्ने अधिकार भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन् ।

यसैगरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले स्थानीय तहको नयाँ संरचना अनुसार नागरीकता वितरण सुरु गरेको छ । गृह मन्त्रालयले राजपत्रमा प्रकाशन भएअनुसारको स्थानीय तहको विवरण सफ्टवयरमा समावेश गरेपछि नयाँ संरचना अनुसारकै नागरीकता जारी गर्न थालीएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताउनुभयो ।

सन्तोष गौतम