प्रशासन कार्यालयद्धारा सरकारी कार्यालयको छड्के अनुगमन, ५६ जना कर्मचारी अनुपस्थित

  • १ चैत्र २०७३, मंगलवार
  • कमल खत्री
  • 3152 पटक पढिएको

म्याग्दी, १ चैत । जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लामा रहेका सरकारी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन छड्के अनुगमन थालेको छ । मंगलवार कार्यालयले गरेको अनुगमनका क्रममा जिल्ला स्थित सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु मनपरि ढंगले विदा स्विकृत नगराईकन कार्यालयमा नआउने प्रचलन रहेको देखाएको छ ।

सरकारी कार्यालयमा रहेका  कर्मचारीको नियमितता र सेवा प्रवाहलाई सुधार गर्न सचेत बनाउने उद्देश्यले प्रशासन कार्यालयले थालेको हाजीरी अनुगमनको क्रममा सो कुरा भेटिएको हो । मंगलवार बिहान १०.१५ बजे देखि थालेको छड्के अनुगमनका क्रममा विभिन्न कार्यालयका ५६ जना कर्मचारी बिना जानकारी कार्यालय उपस्थित नभएको पाइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । DSC_0002

यसैगरी छ जना कर्मचारी कार्यालयमा नियमित उपस्थित नभएको र धेरैले पोशाक लगाएको पाइएको उहाँले बताउनुभयो । बिना जानकारी कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई सचेत बनाउनुका साथै स्पष्टीकरण सोध्ने तयारी गरेको प्रजिअ पौडेलले बताउनुभयो ।  उहाँले आफु जिल्लामा आएलगत्तै कार्यालय प्रमुखहरुसंगको बैठकमा कर्मचारी पोशाकलाई कार्यालय समयमा अनिवार्य गर्न निर्देशन दिएको र अनुगमनका क्रममा सो पालना भएको भेटिएको समेत बताउनुभयो ।

अनुगमनको क्रममा अनुपस्थित हुने कर्मचारीहरु मध्ये जिल्ला जनस्वास्थ्य कार्यालयका ११ जना, प्राबिधिक कार्यालयका आठ, राहुघाट जलविद्युत आयोजनाका १२, आर्युर्वेद स्वास्थ्यमा ३, बनमा ४, कृषि विकासका २, सिचाई विकासका २, नापीका ४, पशु सेवाका ४, सिचाई विकास सब डिभिजनका २, जिल्ला समन्वय समिति , कोलेनीका, खानेपानी, हुलाक, महिला तथा बालबालिका कार्यालयका ११ जना कर्मचारी उनुपस्थित रहेको पाईएको प्रशासनले जनाएको छ ।

अनुगमनमा खटिएका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको टोलीलाई प्रजिअ पौडेलले समेत अनुगमन गर्नुभएको थियो । यसैबिच जिल्ला प्रशासन कार्यालयले सरकारले घोषणा गरेको चुनाबी कार्यक्रमलाई मध्यनजर गर्दै सरकारी सवारी साधन बिदाको दिनमा नचलाउन र बिना अनुमती जिल्ला बाहिर नलैजान निर्देशन दिएको छ ।

निर्वाचनलाई मध्यनजर गरि  जिल्ला बाहिर जानुपरेमा र बिदाको समयमा चलाउनु परेमा प्रशासनको अनुमती नलिए नियन्त्रणमा लिन प्रहरीलाई सर्कुलर दिइएको प्रजिअ पौडेलले बताउनुभयो । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सरकारी कार्यालयका सवारी साधनलाई मर्मत सम्भार गरेर तयारी अवस्थामा राख्न समेत निर्देशन दिएको छ । प्रजिअ आचार्यले निर्वाचनको वातावरण सृजना गर्न सबै सरोकारवालाहरुलाई आग्रह समेत गर्नुभएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l