कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छ : अध्यक्ष ओली

  • २८ फाल्गुन २०७३, शनिबार
  • 1793 पटक पढिएको

4270355451ab48599515df6b3190c039_18

काठमाडौं, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताएका छन्।

पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि उनले बताए।

अध्यक्ष ओलीले भने–’अब यस्तो हुँदैन भनेर भारतलाई माफी मगाउनुपर्छ। भारतको बलियो छु, भन्ने घमण्ड हो। अर्काको सीमानामा पस्न पाइँदैन। अन्तर्राष्ट्रिय कानुन भारतले पनि मान्नुपर्छ।’

खाली हात आफ्नो सीमाना रक्षा गर्दा गोविन्द गौतम देशको पछिल्लो सहिद भएको भन्दै उनले सच्चा नेपाली देशको रक्षार्थ ज्यानको बलिदानी दिन तयार रहेको बताए।

सप्तरी घटनाका सन्दर्भमा कडा टिप्पणी गर्दै उनले सरकारले हिंसालाई प्रश्रय दिने काम गरेको आरोप लगाए। आपराधिक तत्वहरुलाई सरकारले हिंसा नगर भन्न नसकेको भन्दै उनले भने– ‘हामी हिंसामा जाँदैनौँ, तर शान्तिपूर्ण कार्यक्रम रोक्न खोज्यो भने त्यसको परिणाम चर्को हुन्छ भन्न चाहन्छौँ।’

उनले थपे– ‘सबैले बुझे हुन्छ, एमाले आफ्नो अभियानमा दृढ छ। हामी मर्नु परे मरौँला तर यो देश बनाएर छाड्छौँ भनेर हिँडिरहेका छौँ।” यो देशलाई कसैको उपनिवेश हुन एमालेले नदिने भन्दै उनले हाम्रा सन्तानलाई पराधीन देश होइन, स्वाधीन र समृद्धि देश जिम्मा लगाउनु पर्ने बताए।

सोही सभालाई सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सप्तरीमा पार्टीको नेतृत्व पङ्क्ति एउटै चिहानमा समाप्त पार्ने कोसिस भएको भन्दै एमालेकै संयमताका कारणले थप दुर्घटना नभएको बताए।

एमालेको उद्देश्य विध्वंसकारी नभएर मधेसमा फैलाइएको भ्रम चिर्नेमात्रै भएको बताए। सप्तरी घटना देश टुक्राउन चाहनेहरुले गरेको उनको आरोप छ।
संविधान कार्यान्वयन नभए प्रतिगमनले टाउको उठाउने भन्दै उनले अहिलेसम्मको उपलब्धिलाई खेर जान दिन नहुने बताए।

एमालेका उपाध्यक्ष वामदेव गौतमले अहिलेको संविधानले नेपाली जनतामात्रै मालिक बनाएको बताए। उनले नीति र बजेट पेस गरेपछि सरकार गिराउने कार्य कुनै पनि देशमा नहुने भए पनि नेपालमा भएको भन्दै स्थायी सरकारले मात्र विकास गर्न सक्ने बताए। रासस