लायन्स क्लबले म्याग्दीका दुई सामुदायिक विद्यालयमा सुविधासम्पन्न भवन निर्माण गर्दै

  • २४ फाल्गुन २०७४, बिहीबार
  • धिरन खत्री
  • 2416 पटक पढिएको

म्याग्दी, २४ फागुन । मानवीय सेवामा क्रियाशिल सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलले म्याग्दीका दुई सामुदायिक विद्यालयमा भवन निर्माण गरिदिने भएको छ । बेनी नगरपालिका–९ तोरीपानीमा अवस्थित गलेश्वर मावि र मालिका गाउँपालिका–७ विमको किसानी माविमा ८ कोठे भवन निर्माणका लागि प्रति विद्यालय २ करोड २५ लाख बजेट विनियोजन भएको लायन्स क्लवका प्रमुख सल्लाहकार चन्द्रकुमार केसीले जानकारी दिनुभयो ।


‘‘ साढे ४ करोड लागतमा दुबै विद्यालयमा सुविधा सम्पन्न भवन बन्छन, थप दुई विद्यालयमा समेत भवन निर्माण गर्ने हाम्रो प्रयास थियो, अहिले प्राविधिक शिक्षालय रहेका विद्यालयहरु मात्रै छनौटमा परेका छन्,’’– केसीले भन्नुभयो ।छनौटमा परेको गलेश्वर माविमा माध्यामिक तहमा जिल्लामै एकमात्र सिभिल इन्जिनियरिङ र किसानी माविमा कृषि जेटिए कक्षा सञ्चालन भइरहेको छ ।

दुवै विद्यालयमा विद्यार्थीको आर्कषण धेरै भएपनि भौतिक संरचनाको आवश्यकता रहेको अवस्थामा लायन्स क्लबले भवन निर्माण गर्ने भएपछि विद्यालयका सरोकारवाला उत्साहित बनेका छन् । देशभरका लायन्स क्लवबाट सामुदायिक विद्यालयको भौतिक संरचना, विद्यार्थीको संख्या लगाएत स्थलगत रुपमा अनुगमन गरी सिफारिस गरिएका विद्यालयलाई ९ सदस्यीय टोलीले छनौट गरेको थियो ।

लायन्स क्लबले निर्माण गर्ने ति विद्यालय भवन अपाङ्गतामैत्रि, प्रविधिमैत्री र सुविधासम्पन्न हुनेछन् । लायन्स क्लबले यस अघि जिल्लामा मोतियाविन्दुको लागि स्वास्थ्य शिविर, सामुदायिक विद्यालयमा सहयोग , प्रतिक्षालय निर्माण लगायतका सामाजिक कार्यहरु गर्दै आएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l