रघुगंगा गाउँपालिकाले स्थायी केन्द्र मौवाफाँट बाटै सेवा दिन थाल्यो
- २३ फाल्गुन २०७४, बुधबार
- 1887 पटक पढिएको
म्याग्दी, २३ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्थायी केन्द्र मौवाफाँटमा कार्यालय सञ्चालनमा ल्याएको छ । स्थानीय तह निर्वाचन भएको झण्डै १० महिनापछि रघुगंगा गाउँपालिकामा स्थायी केन्द्र मार्फत सेवा दिन सुरु गरिएको हो । गाउँपालिकाको केन्द्र विवादका कारण लामो समयदेखि सदरमुकाम बेनीबाट दैनिक कामकाज गर्दै आएको गाउँपालिकाले सरकारले राजपत्र मार्फत स्थायी केन्द्र मौवाफाँट कायम गरेपछि यसै सातादेखि मौवाफाँटमा घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको हो ।
केन्द्र विवादले पाखापानीलाई अस्थायी केन्द्र तोकेर निर्वाचन सम्पन्न गरिएपनि गाउँपालिकामा बहुमत जनप्रतिनिधिहरुले गरेको निर्णय बमोजिम सरकारले रघुगंगा गाउँपालिकाको स्थायी केन्द्र मौवाफाँट कायम गरेको थियो । स्थायी केन्द्र मौवाफाँटबाटै दैनिक प्रशासन, योजना सम्झौता लगायतका कार्यहरु सुरु गरिएको गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले बताए ।
तत्काललाई घर भाडामा लिएर कार्यालय सञ्चालन गरेपनि गाउँपालिकाकै भवन निर्माणको लागि समेत जिल्ला समन्वय समितिको पहलमा योजना छनौट भैसकेकाले यसै बर्षदेखि नै पूर्वाधार निर्माणको काम समेत थालनी गरिने उनले बताए ।