मोना कतारको साँगेतिक कार्यक्रममा सहभागी हुन म्याग्देली कलाकार कतार उत्रदै

  • २२ फाल्गुन २०७४, मंगलवार
  • कमल खत्री
  • 3139 पटक पढिएको

म्याग्दी, २२ फागुन । म्याग्देली कलाकारहरु साँगेतिक कार्यक्रममा सहभागी हुन कतार उत्रने भएका छन् । मोना कतारले आयोजना गरेको संस्थाको १५ औ बार्षिकोत्सव तथा तेस्रो विविध साँस्कृतिक कार्यक्रममा सहभागी हुन म्याग्देली कलाकारहरु कतार जान लागेका हुन् ।

मार्च ९ (फागुन २५ गते) आगामी शुक्रवार दोहा स्थित नज्माको सालिमार प्यालेस रेस्टुरेन्टमा सम्पन्न हुने कार्यक्रममा म्याग्देली कलाकारहरु लोकप्रिय लोकदोहारी गायिका लाली बुढाथोकी, चर्चित लोकदोहोरी गायक गायक अमित विश्वकर्मा, चर्चित हाँस्यकलाकार एवम् दोहोरी गायक रवी कार्की र नवमोडलको रुपमा चर्चामा आएकी नृत्यङ्गना रविना भण्डारी कतार प्रस्थान गर्न लागेका हुन् ।

उक्त कार्यक्रममा आफ्नो प्रस्तुती राख्नका लागि नेपालबाट जाने चारै जना म्याग्देली कलाकारहरु बुधवार दिउँसो सम्ममा कतार आईपुग्ने कार्यक्रम संयोजक तिलु शर्मा पौडेलले बताउनुभयो । कतारको कार्यक्रमको लागि त्यसतर्फ यात्रा गर्न लागेका कलाकार अमित विश्वकर्माले प्रवासमा पहिलो पटक साँगेतिक प्रस्तुती राख्ने अवसरले उत्साहित बनाएको बताउँदै कार्यक्रममा उपस्थित दर्शकहरुलाई भरपूर्ण मनोरन्जन दिने गरि प्रस्तुती राख्ने बताउनुभयो । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतारले म्याग्दी जिल्लामा जन्मिएर सांगितिक क्षेत्रमा स्थापित भएका म्याग्देली कलाकारलाई नै उपस्थित गराउने गरि कार्यक्रम तय गरेको छ ।

उक्त कार्यक्रममा कतारमै रहेका म्याग्देली एवम् अन्य कलाकारहरुले समेत आफ्नो प्रस्तुती राख्नेछन् । संस्थाको बार्षिकोत्सव एवम साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मोना कतारका अध्यक्ष रमेश पौडेलले जानकारी दिनुभयो । प्रबासी म्याग्देली दृष्टि सम्बृद्ध म्याग्दीको सृष्टिको भन्ने मूल नाराका साथ सन् २००३ को मार्चमा प्रेम रसाइलीको अध्यक्षयतामा स्थापित संस्थाले मार्च महिनालाई उत्सवको रुपमा मनाउने गरेको छ । मोना कतार मुल आयोजक रहेको कार्यक्रमको मोना कतारकै खेलकुद विभाग र सांस्कृतिक विभाग सहआयोजक रहेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l