मंगला गाउँपालिकामा आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरमा विरामीको घुईचो
- २१ फाल्गुन २०७४, सोमबार
- 2386 पटक पढिएको
म्याग्दी, २१ फागुन । जिल्लाको मंगला गाउँपालिका–२ बाबियाचौरमा सोमबार आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरमा विरामी घुईचो लागेको छ । भौगोलिक रुपमा विकट, यातायात र आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएका बिरामीको लक्षित गरी सञ्चालन गरिएको एकदिने शिविरमा एक हजार बढी सर्वसाधारणहरु लाभान्वित भएका छन् ।
मंगला गाउँपालिकाको आयोजना, बेनी अस्पताल म्याग्दीको प्राविधिक तथा म्याग्दी समाज न्यूयोर्कको सहयोगमा सम्पन्न शिविरबाट १ हजार १६ जना बिरामी लाभान्वित भएको भिमकुमारी भिमकुमारी बुढाथोकीले जानकारी दिईन् । शिविरमा ७१३ जना महिला र २९३ जना पुरुषले सेवा लिएका थिए ।
शिविरमा सर्वसाधारणलाई सुगर, प्रेसर, स्त्रीरोग, इसिजी, डेन्टल, माइनर तथा मेजर अप्रेसन, परिवार नियोजन, आँखा चेकजाँच र हाडजोर्नी, रगत परिक्षण, एक्सरे लगायत बेनी अस्पतालमा उपलब्ध सेवाका साथै साथै परामर्श दिइएको थियो । शिविरको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले आधारभुत सेवासुविधालाई दुर्गम क्षेत्रमा केन्द्रित गर्ने प्रतिबद्धता जनाए । ‘शिविरमा बृद्धबृद्धा समेत उपचारका लागि आउनुभएको छ ।
गाउँस्तरमा समेत शिविर सहित सरकारी सेवा उपलब्ध गराउने छौ’ रोकाले भने । उनले गाउँपालिकाले विभिन्न संघसंस्था संग सहकार्य गरी भविस्यमा समेत शिविर सञ्चालन गर्ने बताए । अस्पताल विकास समिति म्याग्दीका अध्यक्ष माधवप्रसाद रेग्मी र जिल्ला स्वास्थ्य प्रमुख डा. रोशन न्यौपानेले नगर तथा गाउँपालिका संग सहकार्य गरी शिविर सञ्चालन गरिने बताएका थिए । सरकारले निशुल्क उपचार तथा मासिक उपचार सुविधाको घोषणा गरेका विभिन्न रोगका विरामी समेत शिविरमा भेटिएको बताउँदै आवश्यक प्रक्रिया पुरा गरी सेवा उपलब्ध गराउने डा. न्यौपानेले प्रतिबद्धता जनाए ।
शिविरमा म्याग्दी समाज न्यूयोर्कका म्याग्दी प्रतिनिधि पूर्ण बहादुर पुनले समाज मार्फत जिल्लामा भएका सेवामुलक कार्यक्रमका बारेमा जानकारी गराएका थिए । शिविरमा मंगला गाउँपालिका अन्तर्गत कुहुँ, बाबियाचौर, बराङ्जा र अर्मनका स्थानीयले सेवा लिएका छन् । आर्थिक अभावका कारण सदरमुकाम सम्म पुगेर सेवा लिनबाट बञ्चित सर्वसाधारणलाई लक्षित गरी सञ्चालित शिविरमा सामान्यदेखि जटिल प्रकारका रोगहरुको पहिचान गरिनुका साथै उपचार गरिएको थियो । शिविरमा डा. महिला तथा प्रसुती सम्बन्धि विशेषज्ञ डा. हेमा छन्त्याल, बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपाने,क्लिनीकल कोअर्डिनेटर डाक्टर नवराज बस्ताकोटी, मेडिकल अधिकृत डा. भूषण सुवेदी, अमुदा रेग्मी, विवेक सुनार लगायत आँखा उपचार केन्द्र प्रमुख दिनेश बानियाँ, डेन्टल, इमरजेन्सी र ल्यावमा कार्यरत स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए ।
शिविरमा अमेरिकाबाट आएकी भारतीय मुलकी नर्स रोश्नी यादव, खुश्बु पुनले समेत बिरामीलाई चेकजाँच गरेका थिए । सोही अवसरमा न्यूयोर्क ईन्स्टिच्युट अफ टेक्नोलोजी कलेजका विद्यार्थी खुश्बु पुनले गाउँपालिकाको स्वास्थ्यचौकीलाई ब्लडप्रेसर जाँच गर्ने मेशिन, थर्मामिटर, नेबुलाईजर, माक्स, ग्लोब्स, वेटमेशिनसहितका उपकरणहरु गाउँपालिका अध्यक्ष शतप्रसाद रोकालाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रमको अवसरमा बिरामीहरुलाई निःशुल्क रुपमा औषधी पनि वितरण गरिएको थियो । म्याग्दी समाज न्यूयोर्कको आर्थिक सहयोगमा यस अगाडी जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिख, बेनी नगरपालिका–३ भकिम्लीमा समेत स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । तस्बिर सौजन्य हरिकृष्ण गौतम