छ दशकपछि दुई तिहाई बहुमतको बलियो सरकार : दाहाल
- १६ फाल्गुन २०७४, बुधबार
- 2061 पटक पढिएको
पर्वत, १६ फागुन । पूर्व प्रधानमन्त्री तथा नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै ६ दशकपछि दुई तिहाई बमुमत सहितको बलियो सरकार बन्न लागेको बताउनुभयो । पर्वत सदरमुकाम कुश्माबजारमा बुधवारदेखि शुरु भएको दशौ पश्चिमाञ्चल स्तरिय महिला महोत्सवको उद्घाटन गर्दै प्रचण्डले २०१५ सालपछि पहिलोपटक दुई तिहाई बहुमत प्राप्त सरकार बन्न लागेको बताउँदै अहिले त्यसैको कसरतमा सरकार लागिपरेको बताउनुभयो ।
अब सरकार दुई तिहाईको बनाउने र समृद्धि, स्थायित्व र समाजवादतर्फ मुलुकलाई लैजान यतिवेला चटारो जस्तै रहेको उहाँले बताउनुभयो । उहाँले मुलुकमा एउटै कम्युनिष्ट केन्द्र केहि दिन पहिलेको सात बुँदे सहमति र कार्यदलका पछिल्ला प्रतिवेदनले बनिसकेको दाबी गर्दै मधेश केन्द्रित दलहरु पनि सहभागि भएपछि दुई तिहाईको सरकार बन्ने बताउनुभयो ।निर्वाचनबाटै कम्युनिष्टहरुले झण्डै दुई तिहाई बराबरको जनमत पाएको बताउँदै प्रचण्डले मधेशवादी दलमध्ये संघीय समाजवादी फोरम सहित केहि दल सरकारमा सहभागि भएपछि पाँच वर्ष कसैले हल्लाउन नसक्ने बताउनुभयो ।
उहाँले एक दुई दिनमै मधेशवादी दल सहितको सरकारले पुर्णता पाउने बताउनुभयो । उहाँले मधेशवादी दलसँग संविधान संशोधन लगायत केहि विषयमा सहमति हुन बाँकी रहेको बताउनुभयो ।अबको सरकार जनताको निम्ति स्थायित्व र समृद्धि तथा समाजवादको स्थापना गर्ने पहिलो सरकार बन्ने बताउँदै उहाँले यो नेपालीहरुका निम्ति ठुलो गौरबको विषय भएको बताउनुभयो । मुलुकवासीले जनमतवाटै कम्युनिष्ट पार्टीलाई जिम्मेवारी दिइसकेको बताउँदै अध्यक्ष प्रचण्डले स्थायित्व विकास र समृद्धि जस्ता जनतासँग गरेका कबुल पुरा गर्ने समय आएको बताउनुभयो ।
जनताको लामो संघर्षपछि मुलुकमा स्थानिय, प्रादेशिक र संघीय सरकार बनिसकेको बताउँदै प्रचण्डले अब विकास निर्माण, शुसासन र समृद्धितर्फ जानुपर्ने बेला आएको बताउनुभयो । उहाँले निर्वाचन अघि जनतासँग गरेका प्रतिवद्धता अक्षरस पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले सात वँुदे सहमति सँगै बनेका कार्यदलको प्रतिवेदनका आधारमा एमाले र माअोवादीबीच पार्टी एकताका लागि धेरै समय कुर्न नपर्ने बताउनुभयो । उहाँले सरकारले पुर्णता पाए लगत्तै पार्टी एकता हुने बताउनुभयो । अब एउटै कम्युनिष्ट पार्टी बन्नेमा कुनै शंका पाल्नु पर्दैन, यो आम नेपाली जनताको निम्ति सवैभन्दा ठुलो उपलब्धि हुनेछ ।
उहाँले आगामी पाँच वर्ष भित्र मुलुकको बिकासले अग्रगति लिने बताउँदै अबको पालो शुशासन र विकास निर्माण भएको बताउनुभयो ।
उहाँले अर्को प्रसंगमा सामुदायिक रेडियोहरुलाई सरकारले पर्याप्त मात्रामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । हामी सञ्चार माध्यामहरुलाई जस्तोसुकै सहयोग गर्न तयार छौ तपाईहरु माग गर्नुहोस् प्रचण्डले भन्नुभयो ।