साँसद केसीको नेतृत्वमा प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री चुमानसंग छलफल
- १२ फाल्गुन २०७४, शनिबार
- 1535 पटक पढिएको
म्याग्दी, १२ फागुन । प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानसंग नेकपा माओवादी केन्द्र म्याग्दीको एक प्रतिनिधि मण्डलले भेटघाट गरेको छ । हालै गठन भएको प्रदेश सभा सरकारमा माओवादीको तर्फबाट मन्त्रीमा चयन भएका चुमानसंग म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीको नेतृत्वमा गएको टोलीले भेटघाट गरि समसामयिक विषयमा जिल्लाको अबस्थाबारे जानकारी गराएको हो ।
प्रदेश सभा सदस्य केसी, माओवादी केन्द्र बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसी, वाइसीएल उपाध्यक्ष नगेन्द्र केसी, व्यवासायी सुवर्ण रिजाल, टेकप्रसाद सापकोटा, युवा नेता इन्द्र मगर लगायतको टोलीले प्रदेश गृह मन्त्रीको रुपमा चिनिने कानुन मन्त्री चुमानलाई भेट गरेको हो । सो क्रममा टोलीले मन्त्रीमा नियुक्त भएकोमा मन्त्री चुमानलाई बधाई ज्ञापन समेत गरेको थियो । टोलीले म्याग्दीको विकास निर्माणको अवस्था, प्राथमिकताका योजना, प्रदेश सभाले बजेट विनियोजन गर्दा म्याग्दीको विकास निर्माणमा ध्यान दिनुपर्ने लगायतको बिषयमा मन्त्री चुमानको ध्यानकर्षण गराएको थियो ।
सो क्रममा मन्त्री चुमानले नवगठित प्रदेश सरकारले जनताको अपेक्षा बमोजिम काम गर्ने बताउँदै योजनाबद्ध तवरले प्रदेशको समृद्धि र विकासको लागि लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । विगतमा पहुँचको आधारमा बजेट विनियोजन हुने गरेको स्मरण गर्दै उहाँले अहिले गठन भएको प्रदेश सरकारले आबश्यकताको आधारमा योजना छनौट र बजेट विनियोजन हुने भन्दै भौगोलिक विकटतालाई प्राथमिकता दिईने भन्दै टोलीलाई आश्वस्त पार्नुभएको थियो । उहाँले प्रदेशका सबै जिल्लाको सुरक्षा अबस्था बारे आफुले जानकारी लिने र सुरक्षा अधिकारीहरुसंग प्रदेशको सुरक्षा अवस्थाबारे छलफल गर्ने तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।