गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग

  • १२ फाल्गुन २०७४, शनिबार
  • kamal
  • कमल खत्री
  • 2520 पटक पढिएको

म्याग्दी, १२ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ । शुक्रवार बसेको वडा समितिको बैठकले म्याग्दी जिल्ला र धौलागिरि गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातीको सघन बसोबास र प्राकृतिक स्रोत र साधनले भरिपूर्ण गुर्जालाई संविधानमा व्यवस्था भए बमोजिम स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गर्ने निर्णय गरेको हो ।


वडा अध्यक्ष झक बहादुर छन्त्यालको अध्यक्षतामा बसेको बैठकले आबश्यक मापदण्ड पुरा हुने भएकाले गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणाको लागि आबश्यक प्रकृया अगाडी बढाउन धौलागिरि गाउँपालिका, जिल्ला समन्वय समिति, प्रदेश सभा, प्रदेश सरकार , प्रतिनिधि सभा हुँदै संघिय सरकारलाई अनुरोध गरेको छ ।

‘‘ उच्च हिमाली काखमा रहेको गुर्जामा अल्पसंख्यक छन्त्याल जातीको बसोबास रहेको छ, छुट्टै भेषभुषा, भाषा, संस्कृति र परम्परा रहेको यस क्षेत्रलाई स्वायत्त तथा संरक्षित क्षेत्रको लागि आबश्यक मापदण्ड पुगेकाले संबन्धित निकायमा माग गरेका हौँ,’’–वडा अध्यक्ष छन्त्यालले भन्नुभयो ।

जिल्ला सदरमुकाम बेनीदेखि २६ कोष टाढाको दुरीमा रहेको गुर्जा धौलागिरि गाउँपालिकाको केन्द्र रहेको मुनाको घट्टेखोलादेखि एक दिनको पैदल दुरीमा अवस्थित रहेको छ । वरिपरि हिमाल, घना जंगल र अग्ला पहाडको बिचमा अवस्थित गुर्जामा भौगोलिक विकटताको कारण राज्यको सेवा सुविधा र पहुँच सहज तवरले अझै पुग्न सकेको छैन् ।

प्राकृतिक स्रोत र साधनले परिपूर्ण यस गुर्जामा धौलागिरि हिमशृङ्खला अन्र्तगत पर्ने गुर्जा , गुर्जा पश्चिम, चुरेन र पुथा हिमाल रहेका छन भने मुलुककै एकमात्रै ढोरपाटन शिकार आरक्षले समेत समेटीएको छ । म्याग्दीको ‘एक गाउँ एक वडा’ को रुपमा चिनिएको गुर्जा बागलुङ, रुकुम र डोल्पासंग सिमाना जोडिएको छ ।

kamal

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l