रघुगंगा गाउँपालिकाका अगुवा कृषक इन्द्र भण्डारी

  • ४ फाल्गुन २०७४, शुक्रबार
  • धिरन खत्री
  • 3079 पटक पढिएको


म्याग्दी, ४ फागनु । बैदेशिक रोजगारमा लामो समय विताएका म्याग्दी रघुगंगा गाउपालिका – ३ फुलवारीका इन्द्रबहादुर भण्डारी गाउँपालिकाकै अगुवा कृषकको रुपमा परिचय बनाएका छन् । उनले ब्यवसायिक फलफुल र तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । रोजगारीको सिलसिलमा विदेशमा एकदशक विताएर फर्किएका भण्डारी विगत ११ बर्षदेखि स्वदेशमै कृषि कर्ममा निरन्तर लागिरहेका छन् ।

आफ्नै खेतबारीमा व्यवसायिक रुपमा तरकारी तथा फलफूल खेती गर्दै आएका भण्डारीले अहिले बार्षिक रु ३ लाख भन्दा बढी आम्दानी गर्छन । भण्डारीले अहिले केरा, सुन्तला खेती संगै आलु, टमाटर, च्याउ, प्याज, मुला लगायतको व्यवसायिक खेती गरेर स्वदेशमै आकर्षक आम्दानी गर्न सफल भएका हुन् । यसै सिजनमा आलु बेचेर रु तीस हजार कमाएका भण्डारीले केरा बाट बार्षिक रु ८० हजार र सुन्तलाबाट करिब ३० देखि ४० हजार आम्दानी हुने गरेको बताए । अहिले उनको खेतमा ३ ओटा गोलभेडाँको टनेल छ भने ब्यवसायिक रुपमा च्याउ उत्पादन पनि गर्दै आएका छन् ।


उनले उत्पादन गरेको तरकारी र फलफुलको लागि बजारको अभाब छैन । धेरैजसो गाउँघरबाटै विक्रि हुन्छ, अलि बढी उत्पादन भयो भने बजार सम्म प¥याउदै आएका छन् । कृषि पेशामा लागेर आम्दानी गर्न थालेपछि घरखर्च चलाउन र बालबच्चाको पढाईलेखाईमा सहयोग पुगेको भण्डारीकी श्रीमती सुनीताले बताईन । कृषि खेतीको लागि योग्य माटो, सिचाँई गर्न पानीको स्रोत पर्याप्त भएको र आवश्यक प्राङ्गारिक मलका लागि भैँसी बाख्रा पालेर घरमै उत्पादन गरेको उनले बताए ।

साउदीको कमाईले खेतबारी किनेर त्यसमा फलफुल र तरकारी खेती गर्न थालेका भण्डारीले थोरै थोरै उत्पादन हुने कृषि खेतीलाई व्यवसायिक बनाएपछि घरखर्च चलाउन सजिलो भएको अनुभूति सुनाए । भण्डारीले जिल्ला कृषि विकास कार्यालयबाट युवा स्वरोजगार अन्तर्गतको अनुदान, तालिम, गोष्ठी, मल, विउ पाइरहेको बताए ।

भण्डारी जिल्ला कृषि विकास कार्यालयबाट अगुवा कृषकको रुपमा सम्मानीत समेत भईसकेका छन् । कृषि कार्यालयले तरकारी, फलफूल खेतीमा ब्यवसायिक रुपमा लागेका कृषकलाई तालिम, गोष्ठी, विउ उपलब्ध गराउँदै आएको बताएपनि मेहनती कृषकहरुले कृषि कार्यालयले बास्तविक कृषक पहिचान गरेर अनुदान दिन चुकेको कृषक भण्डारीको गुनासो छ ।

गाउँपालिकामा ब्यवसायिक कृषिमा लागेका अगुवा कृषकलाई गाउँपालिकाबाट आवश्यक सहयोग गर्ने निति ल्याएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ब्यवसायिक कृषि खेतीमा निरन्तरता दिन सकेमा राम्रो आम्दानी गर्न सकिने भण्डारीको अनुभव रहेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l