स्थानीय तहलाई कृषि सेवा केन्द्र हस्तान्तरण
- ३ फाल्गुन २०७४, बिहीबार
- 1951 पटक पढिएको
म्याग्दी ३ फागुन । जिल्लाको ग्रामिण क्षेत्रमा रहेका कृषि सेवा केन्द्र, उपकेन्द्र र सम्र्पक स्थलहरु बिहीबार स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । कृषि विकास कार्यालयले अन्नपूर्णका २, रघुगंगाको १ र मंगला गाउँपालीकाको १ वटा सेवा केन्द्रका भौतिक पूर्वाधार स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।
मालीका गाउँपालीकामा कृषिका सेवा केन्द्र थिएन्न भने धौलागिरी गाउँपालीका र बेनी नगरपालीकाका सेवा केन्द्र अर्को चरणमा हस्तान्तरण गरिने बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए ।
अन्नपूर्ण गाउँपालीकाको दाना र घार सेवा केन्द्रको भवन, फर्नीचर र जग्गा तथा नारच्याङमा रहेको जग्गा हस्तान्तरण भएको छ । यसैगरी भगवती सेवा केन्द्रको भवन र चिमखोलाको जग्गा रघुगंगा गाउँपालीकालाई हस्तान्तरण गरिएको छ । बाबियाचौर सेवा केन्द्रको भवन, जग्गा र लालपुर्जा मंगला गाउँपालीकालाई उपलब्ध गराइएको छ ।
बेनी नगरपालीका अन्तरगत घतान, ज्यामरुककोट र पात्लेखेत तथा धौलागिरी गाउँपालीका अन्तरगत ताकममा सेवा केन्द्र रहेका छन् । कृषि विकास कार्यालयको विषयमा भने अहिलेसम्म कुनै निर्देशन नआएको बरिष्ठ कृषि विकास अधिकृत रिजालले बताए ।
अधिकृत रिजालले अन्नपूर्ण गाउँपालीकाका उपाध्यक्ष केशमाया मगर, रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलीजा र मंगलाका अध्यक्ष सतप्रसाद रोका तथा उपाध्यक्ष सिर्जना केसीलाई सेवा केन्द्रको सम्पत्ती विवरण हस्तान्तरण गरिएको पत्र उपलब्ध गराएकी थिए ।
राज्य पुनसंरचनासंगै गाउँ गाउँमा रहेका कृषि, पशुसेवा केन्द्र स्थानीय तहको शाखाको रुपमा रुपान्तरण भएका छन् । यसअघि सेवा केन्द्रहरु जिल्ला कृषि विकास कार्यालय अन्तरगत थिए ।