भगवतीमा डेढ करोडमा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न
- ३ फाल्गुन २०७४, बिहीबार
- धिरन खत्री
- 2657 पटक पढिएको
म्याग्दी, २ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीमा डेढ करोड लगानीमा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङमार्फत २०७३ कात्तिक २३ गते ठेक्का सम्झौता भएको भवनको पूर्वाधार निर्माणको काम २०७४ वैशाखदेखि सुरु भएको थियो ।
एक करोड ३८ लाख २० हजार ८४३ रुपैयाँमा नाना हरि जेभीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीका प्रतिनिधि कृष्णकुमार शेरचनले भवनको सबै संरचना तयार भएको हुदाँ हस्तान्तरणको तयारी गरेको जानकारी दिए ।
भूकम्प प्रतिरोधी क्षमताको अपांगमैत्री उक्त भवनको भुइँ तलामा ७ र पहिलो तलामा दुईवटा कोठा छन् । भुइँ तलामा बिरामीको उपचार, औषधि भण्डारण, प्रशासनिक, ल्याबलगायतका छुट्टाछुट्टै कक्ष छन् ।
छड, सिमेन्टलगायत निर्माण सामग्रीको मूल्य वृद्धिका बावजुद पनि निरन्तर मजदुर परिचालन गरेको र समुदायले पनि सहयोग गरेकाले लक्ष्यअघि नै भवन बनाउन सफल भएको शेरचनले बताए ।
व्यवसायीको इच्छाशक्ति, सक्रियता, सरकारी निकायको समन्वय तथा निगरानी र समुदायको सहयोग भएमा पूर्वाधार योजनामा ढिलासुस्ती हटाउन सकिने उदाहरण भगवती स्वास्थ्य चौकीको भवन योजनाले प्रवाह गरेको वडाध्यक्ष रिम कटुवालले बताए ।
भवन निर्माणका लागि रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र स्थानीय लोकबहादुर भण्डारीले सात वर्षअघि चार रोपनीभन्दा बढी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराएका थिए ।
भवबहादुर भण्डारीले साढे छ लाखमा तीन रोपनी र लोकबहादुर भण्डारीले एक लाख रुपैयाँभन्दा बढीमा एक रोपनी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराएको स्वास्थ्य चौकीका प्रमुख टीकाबहादुर शाहीले बताए ।
हाल वडा कार्यालयको स्वामित्वमा रहेको जीर्ण अवस्थाको भवनको दुईवटा कोठाबाट स्वास्थ्य चौकी सञ्चालन हँुदै आएको छ । नयाँ भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाह सहज हुने हुदाँ सो स्वास्थ्य चौकीबाट भगवतीका ४ हजार बासिन्दाले प्रत्यक्ष फाईदा लिने छन् ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l