बेनी बजारको फोहोर ‘ओढारेमा’ व्यवस्थापन गरिने, डेढ दशकको प्रयासपछि स्थान पहिचान

  • १९ माघ २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 2165 पटक पढिएको

म्याग्दी, १९ माघ । करिब डेढ दशकको प्रयासपछि सदरमुकाम बेनीको फोहोर व्यवस्थापन गर्ने स्थान पहिचान भएको छ । बेनी नगर कार्यपालीकाको हालै बसेको बैठकले बेनपा ३ मा पर्ने ओडारेमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने निर्णय गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । बेनपा ३ भकिम्लीका जनप्रतिनिधि र सरोकारवालाहरुले बस्ती देखि टाढा रहेको उक्त स्थानमा फोहोर व्यवस्थापन केन्द्र बनाउन सहमती जनाएका छन् ।

चालु आर्थिक वर्षभित्रनै फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने लक्ष्य सहित योजना कार्यान्वयन अघि बढाइने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरि व्यवस्थापन गरिने भएको छ । कुहिनेलाई कम्पोष्ट मल बनाउने र नकुहिने फोहोरलाई कवाडीमा बिक्री गरी आम्दानी गर्ने नगरपालीकाको योजना छ ।

ठाउँको अभावमा वि.स २०६० देखि बेनी बजारमा संकलन गरिने फोहोर बेनी –गलेश्वर सडकको रातोपहिरो स्थित कालीगण्डकी नदी किनारमा फालीदै आएको थियो करिब एक हजार घरधुरी र पन्ध्रहजार जनसंख्याको बसोबास रहेको बेनीमा दैनिक तिन ट्याक्टरका दरले फोहोर संकलन हुने गरेको छ । फोहोर व्यवस्थापनका लागि नगरपालीकालाई मन्त्रालयले गत वर्षनै साठी लाख रुपैया उपलब्ध गराएपनि ठाउँ पहिचान नहुँदा खर्च हुन सकेको थिएन् । प्रस्तावीत ठाउँ बेनी देखि पाँच किलोमिटर उत्तर पश्चिमतर्फ अवस्थित छ । फोहोर व्यवस्थापन केन्द्रका लागि दुई रोपनी क्षेत्रफलको जग्गा हुनुपर्ने मापदण्ड छ ।

बेनी देखि ओडारे सम्म पुग्ने हाँडेभिर–बगरफाँट–थामडाँडा सडकको स्तरवृद्धी र कालोपत्रेका लागि नगरपालीकाले सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा प्राथमिकताका साथ सिफारीस गरेको छ । यसैगरी नगरपालीकाले हाँडेभिरमा बधशाला निर्माण प्रक्रिया अघि बढाएको छ । बधशाला निर्माणका लागि सर्वेक्षण भैसकेको छ । बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई कार्यपालीकाको बैठकले बधशाला निर्माणका लागि समन्वयको जिम्मेवारी दिएको छ । एक महिनाभित्र बधशाला निर्माण गरीसक्ने गरी फास्ट ट्याकबाट काम अघि बढाएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बेनीका मासु व्यवसायीले बधशालाको अभावमा राँगा र भैसीको अव्यवस्थित रुपमा बध गरेर अस्वस्थ्य मासु बिक्री गर्दै आएका छन् । नगरपालीकाले गलेश्वर जेष्ठ नागरीक आश्रमका जेष्ठ नागरीक, बेनीको म्याग्दी बालगृहका अनाथ बालबालीका, बालजागृती आधारभुत विद्यालयको वौद्धीक अपाङगता, धौलागिरी माविको बहिरा स्रोत कक्षाका विद्यार्थी र वडा कार्यालयको सिफारीसमा अशक्त असाहय नागरीकको स्वास्थ्य बिमा गरिदिने भएको छ । नगरपालीका कार्यालयको भवनबाट सञ्चालन हुदै आएको सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरीको कार्यालय जिसस अगाडीको वन कार्यालयले प्रयोग गर्दै आएको भवनमा स्थानान्तरण गरि मर्मतका लागि एक लाख रुपैया उपलब्ध गराउने निर्णय भएको नगरपालीकाले जनाएको छ ।

सन्तोष गौतम