म्याग्दीका सामुदायिक विद्यालयहरुमा पूर्वाधार निर्माणमा रु साढे सात करोड परिचालन

  • १८ माघ २०७४, बिहीबार
  • 1548 पटक पढिएको

 

म्याग्दी, १८ माघ । जिल्ला शिक्षा कार्यालयले म्याग्दीका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि रु सात करोड ३८ लाख ५० हजार उपलब्ध गराएको छ । नौ वटा चार कोठे, तीन वटा तीन कोठे, १४ वटा दुई कोठे कक्षा कोठा भवन र नौ वटा छात्रामैत्री शौचालय निर्माणका लागि उक्त बजेट वितरण गरिएको कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार १५ वटा विद्यालयमा इन्टरनेट प्रयोग गरेर पठनपाठन सञ्चालन गर्न र २० वटा विद्यालयमा पुस्तकालय स्थापना गर्न रु छ लाख ५० हजारका दरले रकम उपलब्ध गराइएको छ ।

भवन र शौचालयको योजनामा परेका विद्यालयले सम्झौताबमोजिम निर्माणको काम शुरु गरेका जिशिअ रामकुमार श्रेष्ठले बताउनुभयोे । राष्ट्रिय पुनःनिर्माण कोषको कार्यक्रमअन्तर्गत यस वर्ष चार कोठे भवन बनाउन धौलागिरि गाउँपालिका–७ धारापानीको किसानी माविले रु ६३ लाख पाएको छ । अन्य आठ वटा विद्यालयले चार कोठे भवन बनाउन रु ३६ लाखका दरले अनुदान पाएका छन् । डाँडाखेतको बालमन्दिर आधारभूत, राम्चेको देउराली, बाबियाचौरको त्रिभुवन मंगला, पुलाचौरको जनकल्याण मावि, नारच्याङको प्रभा मावि, बिमको किसानी मावि, भकिम्लीको जयन्ती माविले चार कोठे भवन बनाउन शुरु गरेका छन् ।

बरञ्जाको महेन्द्ररत्न, दुखुको मालिका र मुनाको सूर्यज्योति आधारभूत विद्यालयले तीन कोठे भवन बनाउन भूकम्प पुनःनिर्माण प्राधिकरणबाट रु ३१ लाख ५० हजारका दरले अनुदान पाएका छन् । प्राधिकरणकै कार्यक्रमअन्तर्गत मराङको राम्चे, दानाको सरस्वती र रुमको गोरक्ष आधारभूत विद्यालयले रु २१ लाखका दरले अनुदान पाएका छन् । भगवतीको सिद्धार्थ ज्ञानमन्दिर, कालीपुलको बालमन्दिर, बुकेनीको जनप्रिय, बेगको पार्वती, खबराको हंशबाहिनी, सिंगाको ज्योति, अर्मनको किसानी आधारभूत र शिख, खिवाङको चन्द्रज्योति, भगवतीको मुक्तिधाम र दरवाङको जनप्रिय माविमा रु १६ लाख दरको दुई कोठे भवन निर्माण हुने भएको छ । हिस्तानको घराम्दी, कुइने, कुहुँको जनआवाज, बाबियाचौरको प्रभात आधारभूत विद्यालय र शिवाङको हेम, देवीस्थानको भीम, सिंगाको धौलागिरि, घारको मुक्तिमार्ग र दानाको ज्ञानप्रकाश माविमा आवाससहितको छात्रामैत्री शौचालय बनाउन रु छ लाखका दरले रकम उपलब्ध गराइएको छ ।