नदीजन्य पदार्थको जथाभावी दोहन गर्नेलाई प्रशासनको संरक्षण !

  • १६ माघ २०७४, मंगलवार
  • 2215 पटक पढिएको

म्याग्दी १६ माघ । म्याग्दीका नदीहरुबाट अब्यवस्थित रुपमा नदीजन्य बस्तुको उत्खनन् भएको छ । डोजर, स्काभेटर प्रयोग गरेर नदीको स्वरुप परिवर्तन हुने गरी म्याग्दी र कालीगण्डकी नदीको किनारबाट ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् भएको हो । नदीजन्य बस्तुको उत्खनन् गर्ने जिम्मा लिएका ब्यवसायीहरुले सम्झौता बिपरीत मेसीनको प्रयोग गरेर उत्खनन् गरेका हुन् ।

डोजर लगाएर, खोलाको धार परिवर्तन गराई ढुङ्गा गिट्टी बालुवाको उत्खनन् गर्दा तटीय क्षेत्रमा कटानको जोखिम बढ्नुका साथै जलचरको बासस्थान र वातावरणमा असर परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । सरकारी निकाय र व्यवसायीको मिलेमतोमा नदीजन्य बस्तुको अव्यवस्थित रुपमा उत्खनन् हुने गरेको सर्वसाधारणको गुनासो छ । जिल्ला समन्वय समिति म्याग्दीले विभिन्न निर्माण कम्पनीहरुलाई नदी किनारको ढुङ्गा, बालुवा उत्खनन् गर्न ठेक्का दिने क्रममा वातावरणीय असर नपर्ने गरी मजदुरको प्रयोग गर्ने सहमती भएको छ ।

सारेमारे, ठुलोबगर, डम्मरा, बगुवाखोला, बाबियाचौर, रातोपहिरो, तिप्ल्याङ, पोखरेबगर लगायतका ठाउँमा व्यवसायीहरुले सम्बन्धित निकायको आँखा छलेर दिउँसै र रातको समयमा डोजर प्रयोग गरेर उत्खनन् गरेको गुनासो गरेपछि प्रहरीले अनुगमनलाई तिब्रता दिएको छ ।अनुगमनका क्रममा आईतबार राती सारेमारेमा डोजर प्रयोग गरेर अबैध रुपमा नदीजन्य बस्तुको उत्खनन् गरेको भेटिएपछि डोजरको चाबी र तिन वटा ट्रिपर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाएको प्रहरी कार्यालयले जनाएको छ ।


अबैध रुपमा उत्खनन् गर्ने ब्यवसायीलाई सम्बन्धित निकायले भने कारबाही गर्नुको साटो सचेत बनाएर मात्र छाडेका छन् । प्रजिअ, प्रहरी नायव उपरिक्षक र व्यवसायीबीचको छलफलमा नदीजन्य पदार्थको उत्खनन्मा आगामी दिनमा डोजरको प्रयोग नगर्ने सहमती गरेर नियन्त्रणमा लिएको डोजर र ट्रिपर छाडीएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताउनुभयो । पर्वतको लस्ती, म्याग्दीको बगुवाखोलामा रहेका क्रसर उद्योग क्षेत्रमा डोजर प्रयोग गरेर नदीको धार परिवर्तन गराई जथाभावी रुपमा नदीको दोहन भएको गुनासो छ । लस्ती स्थित अँदक्षिणाम काली क्रसर उद्योगका सञ्चालक विप्लप हमालले सम्झौता अनुसारनै उत्खनन् गरिएको दावी गर्नुभयो ।

सडक, भवन, जलविद्युत, सब स्टेशन लगायत दर्जनौ राष्ट्रिय गौरवका आयोजना ढुङ्गा, गिट्टी र बालुवाको अभावमा निर्माण कार्य प्रभावीत भएकाले नदीजन्य बस्तुको उत्खनन्मा खुकुलो बनाइनुपर्ने हमालको भनाई छ ।वातावरणीय असरप्रती सचेत रहेको हमालले बताउनुभयो । चुरे र तराई क्षेत्रका नदी क्षेत्रलाई आधार मानेर बनाइएको नदीजन्य बस्तुको उत्खनन् सम्बन्धि नितीगत ब्यवस्था पहाडी क्षेत्रमा अनुकुल नभएको व्यवसायीहरुको दावी छ ।