मंगलाघाटमा प्रहरी बिट स्थापना

  • १५ माघ २०७४, सोमबार
  • सन्तोष गौतम
  • 2293 पटक पढिएको

बेनी १५ माघ । बेनी नगरपालीका ७ मंगलाघाटमा प्रहरी बिट स्थापना भएको छ । सदरमुकाम बेनी बजारको पश्चिमी नाकामा रहेको मंगलाघाटमा स्थापना भएको प्रहरी बिटको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । सो प्रहरी बिटमा हवल्दारको नेतृत्वमा पाँच जना प्रहरी खटिएका छन् ।

बजार प्रवेश गर्ने नाका र मंगलाघाटको सुरक्षालाई व्यवस्थीत बनाउने, चोरी शिकारी, लागु औषध दूब्र्यसनी, विकृती र अपराध नियन्त्रण गरी सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन बिट स्थापना गरिएको हो । प्रहरी बिट स्थापनाका लागि बेनी नगरपालीकाले नौ लाख ६० हजार रुपैयाको लागतमा भान्छाकोठा सहित चार कोठे भवन निर्माण गरेको छ ।

आर्थिक वर्ष २०७२/७३ देखि सुरु भएको भवन निर्माण कार्यले पूर्णता र प्रहरी दरबन्दि थप भएर आएपछि बिट स्थापना भएको हो ।
नगरपालीकाले सो भवन निर्माणका लागि आर्थिक वर्ष २०७२/७३ मा पाँच लाख, २०७३/७४ मा तिन लाख र चालु आर्थिक वर्ष २०७४/७५ मा एक लाख ६० हजार रुपैया उपलब्ध गराएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

प्रहरी बिट र भवनको उद्घाटन कार्यक्रममा जिसस प्रमुख केसी र नगरप्रमुख श्रेष्ठले शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई समुदायको सहयोग आवश्यक पर्ने बताउँदै बेनीको प्रमुख सुरक्षा चुनौतीको रुपमा देखिएको लागु औषध दूब्र्यसन नियन्त्रणमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी र प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले अपराध, दुर्घटना, विकृती, हिंसा, दुब्र्यसनी न्युनीकरणका लागि प्रहरी र समुदायको सहकार्यमा जोड दिनुभयो ।

बेनी नगरपालीका ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षता, वडा सचिव प्रभा शर्माको सञ्चालन र महारानी टोल सुधार समितिका अध्यक्ष नवराज पौडेलको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । सो प्रहरी बिटले मंगलाघाटका साथै डम्मरा, बगरफाँट, महारानी थान क्षेत्रको सुरक्षालाई थप सुदृढ बनाउन मद्दत पुग्ने स्थानीयबासीले अपेक्षा गरेका छन् ।

 

सन्तोष गौतम