बेगखोलामा नेपालकै लामो झोलुङ्गे पुलदेखि देउराली जोड्ने पदमार्ग निर्माण सुरु (फोटो फिचर)

  • १५ माघ २०७४, सोमबार
  • 4250 पटक पढिएको

म्याग्दी, १५ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पदमार्ग निर्माण सुरु गरिएको छ । बेग–बाँदुक जोड्ने नेपालकै लामो निर्माणधिन झोलुङ्गे पुलदेखि बेगको देउराली सम्म पक्कि पदमार्ग निर्माण गर्न थालिएको हो ।


झोलुङ्गे पुल रहेको काउले देखि ठुलो गाउँ हुँदै वडा कार्यालय रहेको देउराली सम्मको करिब १ किलोमिटर दुरीमा रेलिङ सहितको ढलान गरेको पक्कि पदमार्ग निर्माण सुरु गरिएको वडा अध्यक्ष बिल बहादुर फगामीले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्ष २०७४÷७५ मा वडा कार्यालयलाई प्राप्त बजेट रु ४८ लाख नै सोही पदमार्ग निर्माणमा विनियोजन गरिएको थियो । वडाको नमुना योजनाको रुपमा छनौट गरि पदमार्ग निर्माण गर्न थालिएको हो ।
वडा कार्यालयदेखि झोलुङ्गे पुल सम्म पुग्नको लागि अप्ठ्यारो र साँघुरो बाटो भएकाले स्थानीयबासीलाई आवत जावतमा सहज होस र पर्यटक आगमनमा सहयोग पुगोस भन्ने उदेश्यले पदमार्ग निर्माण गर्न लागिएको वडा अध्यक्ष फगामीले बताउनुभयो ।
दुई मिटर चौडाई हुने सो पदमार्गको डिलतर्फ रेलिङ राखिनेछ । प्राविधिक टोलिको सर्वे अनुसार पक्कि ढलान गरि पदमार्ग निर्माणलाई तिब्रता दिईएको उपभोक्ता समितिले जनाएको छ ।
सो पदमार्ग निर्माणले बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माणधिन (३ सय ६५ दशमल ८० मिटर लामो) नेपालकै लामो झोलुङ्गे पुलको भम्रणमा आउने पर्यटकहरुलाई समेत गाउँमा पु¥याउन सहयोग पुग्ने स्थानीय अगुवा दल प्रसाद तिलिजाले बताउनुभयो ।

तस्बिरः दलप्रसाद तिलिजा