म्याग्दीमा १२ जना कुष्ठरोगी भेटिए, जनचेतनाको अभाबले उपचारबाट बञ्चित हुन सक्ने
- १४ माघ २०७४, आईतवार
- कमल खत्री
- 2547 पटक पढिएको
म्याग्दी, १४ माघ । म्याग्दीमा कुष्टरोगीहरुको संख्या बढ्दो क्रममा देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कार्यालयले आईतवार बेनीमा ६५ औँ विश्व कुष्ठरोग दिवसको अबसरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा जिल्लामा कुष्ठ रोगको अबस्थाबारे जानकारी गराईएको हो । जिल्लामा अहिले कुष्ठ रोगबाट पिडित भएका १२ जनाले उपचार गराई औषधी खाईरहेको कार्यालयका क्षयकुष्ठ रोग निरिक्षक मनिस महत्तोले जानकारी दिनुभयो ।
उहाँका अनुसार, बेनी नगरपालिका भित्र ९ जना र मंगला गाउँपालिकामा पहिचान भएका ३ जना कुष्ठ रोगीहरुले निशुल्क औषधी सेवन गरिरहेका छन् । यस रोगबाट पिडित भएका केही व्यक्तिहरुले पोखराबाट समेत औषधी सेवन गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा नयाँ बालबालिकाहरुमा यो समस्या नदेखिएको र पहिले लुकेर रहेका विरामीहरु उपचारमा आउन थालेपछि ति समस्याहरु पहिचान हुन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रोशन न्यौपानेले बताउनुभयो ।
जिल्लामा पहिचान भएका १२ जना कुष्ठ रोगीहरु सबै ३० बर्ष भन्दा माथि उमेरका रहेका छन् ।शारीरिक अंगभंग हुनसक्ने खतरा हुने भएपनि रोग लागेपछि चाँडै उपचार गराएमा औषधी निशुल्क पाईने र रोग समेत निको हुने भएकाले कुष्ठरोगको संकेत देखिएमा नजीकको स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परिक्षण गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाब छ ।
कार्यक्रममा सहजीकरण गर्दै जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर विराट शर्माले शरिरमा नचिलाउने दाग आउनु, छाला छोएको थाहा नपाउन, लामो समयसम्म झमझमाउने समस्या कुष्ठ रोगको लक्षण हुनसक्ने भएकाले यस्तो समस्या भएमा तुरुन्त उपचार गराउनुपर्ने बताउनुभयो । ‘‘यो उपचार गरे निको हुने रोग हो, पहिले समाजमा सामाजिक समस्याकै रुपमा रहेको यो रोग अहिलेपनि देखिने गरेको छ, यो रोगको उपचार नभएमा अंगभंग हुने समस्या हुन्छ, त्यसैले कुष्ठरोगको लक्षण देखिने विक्तिकै उपचार गराउनुपर्छ’’– डाक्टर शर्माले भन्नुभयो ।
जिल्लाको सबै स्वास्थ्य संस्थामा यो रोगको औषधी निशुल्क उपलब्ध गराउने गरिएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा यो रोगको किटाणु सरेको २ देखि ५ बर्षमा मात्रै लक्ष्यण देखिने भएकाले यो रोग लागेको पक्ता लाग्नसाथ उपचार गराउनुपर्ने उहाँको भनाई छ । रोग लागेको व्यक्तिलाई रोगको अबस्था हेरि ६ महिनादेखि २ बर्षसम्म औषधी सेवन गरि उपचार गरेमा निको हुने भएपनि जनचेतनाको अभाबले अहिलेपनि कतिपय विरामीहरु खुल्न नचाहने समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला अस्पताल विकास समितिका अध्यक्ष माधव रेग्मी लगायत जिल्ला स्थित सरोकारवालाहरुको सहभागीता रहेको कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले मन्तव्य राख्नुभएको थियो भने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्यले स्वागत गर्नुभएको थियो ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l