मगर भाषा पुस्तक प्रकाशन सुरु
- १३ माघ २०७४, शनिबार
- साधन राम्जाली
- 2863 पटक पढिएको
म्याग्दी, १३ माघ । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा रहेको नेपाल मगर संघ म्याग्दी इकाई गाउँ समितीले एक कार्यक्रम गरि मगर भाषा पुस्तक प्रकाशनको उद्घाटन भएको छ । नेपाल मगर संघ म्याग्दी इकाई रुम गाउँ समितिका अध्यक्ष ताराबहादुर रोका मगरको संयोजकत्व र लेखक खबिन गर्बुजा मगरद्वारा लिखित सो मगर भाषा पुस्तक अर्थात मगर ‘ढुट’ पुस्तकको उद्घाटन गरिएको हो।
सम्पूर्ण मगरहरु एक हौं, मगर भाषा ,कला र संस्कृतिको संरक्षण गरौ भन्ने मुल नाराका साथ एक बर्ष अगाडी स्थापना भएको उक्त इकाई गाउँ समितिले आफ्नो पहिलो योजना अनुरुप सो पुस्तक प्रकाशन गरेको हो। मगर भाषा पुस्तकको उद्घाटन मालिका गाउँपालिका–२ का वडा अध्यक्ष नरबहादुर पुन मगरले गरेका थिए । पुस्तक प्रकाशन गरेकोमा इकाईका समितिलाई धन्यवाद व्यक्त गर्दै वडा अध्यक्ष पुन मगरले म्याग्दी मगरहरुको बाहुल्यता भएको जिल्ला भएपनि आफ्नो मातृभाषा अर्थात मगर भाषामा निकै पछाडी परेको बताए ।
इकाई गाउँ समितिका अध्यक्ष ताराबहादुर रोका मगरले प्राचीन समयदेखि नै म्याग्दीमा मगर भाषा बोलिदै आएको तर नेपालको विभिन्न राज्यव्यवस्थामा भएको परिवर्तनले गर्दा मगरहरुको मातृभाषामा लोप हुन गएको बताए । कार्यक्रममा महिला संजालकी अध्यक्ष बिमला रोका मगरले पुस्तक प्रकाशन गरेकोमा इकाई समितिलाई धन्यवाद दिदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।