सुशासनका लागि सूचनाको हक कार्यान्वयनमा जोड
- ९ माघ २०७४, मंगलवार
- 3915 पटक पढिएको
बेनी ९ माघ । म्याग्दीका सरोकारवालाहरुले सुशासनका लागि सूचनाको हकको पूर्ण कार्यान्वयनमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघले मंगलबार बेनीमा आयोजना गरेको सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा म्याग्दीमा सूचनाको हकको कार्यान्वयनको अवस्था, समस्या र कार्यान्वयनका लागि सरोकारवालाको भूमिकाको विषयमा छलफल भएको थियो ।
प्रजिअ कृष्णप्रसाद अधिकारीले उत्तरदायीत्व, पारदर्शीता र सुशासनका लागि सूचनाको हकको कार्यान्वयन अपरिहार्य रहेको बताउनुभयो । उहाँले ऐनमा भएका व्यवस्थाहरुको बारेमा बुझाईमा एकरुपता कायम गरि छोटो प्रक्रियामा सहज रुपमा सूचना प्रवाह गर्नु सार्वजनीक सरोकारका निकायहरुको दायीत्व भएको बताउनुभयो ।
कार्यक्रममा सहभागी कार्यालय प्रमुख, सूचना अधिकारी र सञ्चारकर्मीहरुले एक दशकअघि जारी भएको सूचनाको हक सम्बन्धि ऐनको कार्यान्वयन पक्ष कमजोर रहेको स्वीकार गर्दै कार्यान्वयनमा प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा सहभागीहरुले प्रकृयाको बारेमा सचेतना नहुनु, प्रकृया झण्झटिलो र खर्चिलो हुने तथा कार्यालय प्रमुखबाट सुचना अधिकारीलाई सम्पूर्ण जानकारी नहुने जस्ता समस्याहरुले पनि सुचनाको हक कार्यान्वयनमा चुनौती थपिएको चर्चा गरेका थिए ।
सरकारी कार्यालय मात्र नभएर गैरसरकारी संघ संस्था, राजनितिक दल लगायत सार्वजनीक सरोकारका सबै ठाउँमा आम नागरीकले सहज रुपमा सूचना माग्ने र प्रवाह गर्ने वातावरण बनाउनुपर्ने सहभागीको भनाई थियो ।
सरकारी निकायमा जनशक्ति, बजेट, तालीम तथा समन्वयको अभाव, आम नागरीकमा सूचनाको हक सम्बन्धि व्यवस्थाको जानकारी नहुदाँ कार्यान्वयन पक्ष फितलो भएको बताइएको छ । कार्यक्रममा जिल्ला कोष नियन्त्रक छविन्द्र बेलबासे, जिल्ला हुलाक अधिकृत साधना कुमारी श्रेष्ठ, प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्का, पत्रकार घन्शयाम खड्का लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले सूचनाको हकको बारेमा सहजीकरण गर्नुभएको थियो । शाखाका सचिव गोरखनाथ सुवेदीको सञ्चालन र कोषाध्यक्ष हरिकृष्ण गौतमको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।