अग्नी पीडित सुवेदी परिवारलाई दिदीवहिनीको एघार हजार सहयोग
- ८ माघ २०७४, सोमबार
- 1809 पटक पढिएको
म्याग्दी, ८ माघ । पर्वतको जलजला ७ धाइरिङ सल्यानका आगलागी पीडित इन्द्रमणि सुवेदीको परिवारलाई बेनीमा रहेको दिदीवहिनी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको छ । आर्थिक अवस्था कमजोरी रहेको सुवेदी परिवारको दुःखमा साथ दिनका लागि सहकारीले आर्थिक सहयोग गरेको सहकारीले जनाएको छ ।
सोमवार सहकारीको कार्यालयमा कार्यक्रमको आयोजना गरि सुवेदीको श्रीमती गोमा सुवेदीलाई एघार हजार एकसय ११ रुपियाँ हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका सुवेदी परिवारको दुःखमा साथ दिन संस्थाले मुष्ठीदान कार्यक्रमबाट उक्त रकम सहयोग गरिएको संस्थाकी अध्यक्ष ज्योति लामिछानेले बताउनुभयो । २०७० सालको श्रीपञ्चमीका दिनबाट सुरु गरिएको मुष्ठीदान कार्यक्रमबाट प्राकृतिक विपत्ती,दैवीप्रकोप लगायत समस्यामा परेका ७० जना भन्दा वढीलाई आर्थिक,जिन्सी लगायत सहयोग उपलब्ध गराइएको संस्थाकी उपाध्यक्ष विष्णु सापकोटाले बताउनुभयो ।
संस्थाको अध्यक्ष लामिछानेको अध्यक्षता र उपाध्यक्ष सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा शेयर सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो । गत पुस ६ गते आगलागी हुँदा सवेदी परिवारको घर पूर्ण रुपमा जलेर ध्वस्त भएको थियो । आगलागीबाट करिव २५ लाख रुपियाँ बरावरको क्षति भएको सुवेदी परिवारको सहयोगका लागि गाउँलेहरुले आर्थिक संकलन अभियान सञ्चालन गरेका छन् ।