आँखाको ज्योति गुमाएका सुनारको उपचारका लागि १० हजार सहयोग
- २७ पुष २०७४, बिहीबार
- धु्रबसागर शर्मा
- 2213 पटक पढिएको
म्याग्दी, २७ पुस । म्याग्दीको बेनी नगरपालिका वडा नं २ भकुण्डेका समाजसेवी भीमवहादुर पौडेलले मजदुरी गर्ने क्रममा आँखाको ज्योति र एउटा हात गुमाएका नरवहादुर सुनारको उपचारका लागि व्यक्तिगतरुपमा १० हजार रुपैयाँ सहयोग गर्नुहुने भएको छ ।बेनपा २ भकुण्डेका सुनारको अवस्था देखेर निकै पहिलेदेखि नै उनको उपचारका लागि पहल गर्दै आउनुभएका पौडेलले बेनीमा रहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सुनारको उपचारका लागि सहयोग अभियान शुरु गरेपछि १० हजार रुपैयाँ सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नुभएको छ ।
पौडेलले आउँदो माघ १ गते ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई सो रकम हस्तान्तरण गर्ने बताउनुभयो । ५९ वर्षिय सुनार उपचार गर्ने पैसा नभएको पीडादायी जीवन जिउन बाध्य हुनुभएको छ । ओमकुमारी शान्ति कोषको सहयोगमा हाल उहाँ काठमाण्डौंमा उपचाररत हुनुहुन्छ । उहाँको उपचारमा सहयोग गर्न ओमकुमारी शान्ति कोषले सहयोग अभियान शुरु गरेको छ ।
वि.सं २०६५ साल चैत ३ गते बागलुङमा रहेको विश्वकर्मा माविको भवन निर्माणका लागि विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाल्ने क्रममा छर्राले लागेर सुनारको दुबै आँखाको ज्योति र देब्रे हातको कुहिना देखि तलको भाग गुमेको थियो ।
ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका सुनारको दुर्घटनापछि श्रवणशक्ति समेत गुमेको छ । ‘ओमकुमारी शान्ति कोषले सुनारको उपचारको लागि सहयोग अभियान संचालन गरेको थाहा पाउँदा ज्यादै खुसी लागेको छ ’पौडेलले भन्नुभयो—‘उनको अवस्था देखेर मलाई धेरै पहिले देखिनै उनको उपचारकालागि सहयोग गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो, तर एकल सहयोगले मात्र केही नहुने हुँदा मैले उनलाई सामान्य सहयोग मात्र गर्दै आएको थिएँ, ।’
सुनारको उपचारका लागि सकेको सहयोग गर्न पौडेलले देश विदेशमा रहनुभएका ज्यामरुककोटवासीहरुलाई आग्रह समेत गर्नुभएको छ । त्यसैगरी युएईमा रहनुभएका प्रदिप सुवेदीले पनि युएईमा नरप्रसादको उपचारका लागि आर्थिक सहयोग अभियान संचालन गर्नुभएको छ ।