मौवाफाँट, पिप्ले र कलेजाबाङमा नवनिर्वाचित साँसदहरुद्धारा मतदातालाई धन्यबाद ज्ञापन
- २६ पुष २०७४, बुधबार
- 1745 पटक पढिएको
म्याग्दी, २६ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट, पिप्ल्ो र कलेजाबाङमा नवनिर्वाचित साँसदहरुलाई बधाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । बुधवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका साँसद भुपेन्द्र थापा, प्रदेश सभा क का साँसद विनोद केसीलाई स्थानीयले स्वागत सहित बधाई ज्ञापन गरेका हुन् । कार्यक्रममा स्थानीय आमा समुह, नेकपा एमाले र माओवादी केन्द्रका सुभचिन्तकहरुले फुल, माला र अविर लगाएर नवनिर्वाचित साँसदहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।
एमाले वडा नम्बर ३ का अध्यक्ष अर्जुन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्र बहादुर थापाले निर्वाचनमा मतदान गरि बिजयी गराउने मतदातालाई धन्यबाद ज्ञापन गर्दै जनतासमक्ष गरेका बाचाहरु पुरा गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले जनताको सेवकको रुपमा आफ्नो कार्यकालमा जनताका काम गर्ने समेत बताउनुभयो । कार्यक्रममा प्रदेश सभाका सदस्य विनोद केसीले भौगोलिक रुपमा बिकटता रहेको रघुगंगा गाउँपालिकाको विकास र समृद्धिको अभियानमा आफ्नो संधै सकरात्मक साथ र सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले म्याग्दीका सचिब बालकृष्ण सुवेदीले रघुगंगा गाउँपालिकाको केन्द्र कायम भएको मौवाफाँटलाई केन्द्रविन्दुमा राखेर सडक, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा रहेका समस्याहरुलाई हल गर्ने गरि काम गर्न साँसदहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका सचिबालय सदस्य दिपक कार्की, रघुगंगा गाउँपालिका–२ भगवतीका वडा अध्यक्ष रिम कटुवाल, ज्ञानोदय मावि व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो ।
गोरखनाथ सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कमल खत्रीले गर्नुभएको थियो । यसैबिच नवनिर्वाचित साँसदद्धय थापा र केसीलाई बुधवार नै पिप्ले र कलेजाबाङमा समेत स्वागत तथा सम्मान गरिएको छ भने सो अवसरमा नवनिर्वाचित साँसदद्धयले मतदातालाई धन्यबाद ज्ञापन गरेका थिए ।