सिंगामा नगरपालीकाको सार्वजनीक सुनुवाई

  • २२ फाल्गुन २०७३, आईतवार
  • सन्तोष गौतम
  • 2509 पटक पढिएको

म्याग्दी, २२ फागुन । बेनी नगरपालीका १४ सिंगामा आईतबार सार्वजनिक सेवा प्रवाह र विकास निर्माण सम्बन्धि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।     बेनी नगरपालीका कार्यालयले आयोजना गरेको कार्यक्रममा नगरपालीकाको सेवा प्रवाह र विकास गतिबिधिमा देखिएको समस्या तथा समाधानका लागि भएका पहलको विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया भएको थियो । IMG_3723

कार्यक्रममा सहभागी बेनी नगरपालीका १३ र १४ नम्बर वडाका बासिन्दाहरुले कार्यालयको सेवाप्रवाहलाई छिटो छरितो बनाउन, फोहोर ब्यवस्थापनलाई प्रभावकारी र नदीमा फोहोर फाल्नेलाई कारबाही गर्न, विकास बजेटलाई समानुपातीक हिसावले वितरण गर्न माग गरेका थिए ।

यसैगरी धेरै लागतका योजना निर्माणका क्रममा पेश्किको व्यवस्था गर्न, नदी कटान संरक्षण, खानेपानीको सहज आपूर्ती, सडकको स्तरवृद्धी, काठका विद्युतका पोल परिवर्तन गराउन ध्यानाकर्षण गराएका थिए । उनिहरुले सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई सहज बनाउन समेत माग गरेका छन् ।

सिंगामा सहरी स्वास्थ्य संस्थाको व्यवस्था गर्न, विकास योजनाहरुलाई गुणस्तरीय र लक्षीत वर्गका कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि अनुगमनमा जोड दिएका छन् । कार्यकारी अधिकृत छवीलाल सुवेदीले सहभागीको गुनासो तथा प्रश्नको उत्तर दिदै कार्यालयको सेवा प्रवाहलाई पारदर्शी, छिटो छरितो र व्यवस्थित बनाउन जनताको गुनासो तथा सुझाव संकलन गर्न सार्वजनीक सुनुवाई आयोजना गरिएको बताउनुभयो ।

उहाँले नगरपालीकाको सबै क्षेत्रको विकासलाई समान प्राथमिकता दिएको बताउँदै योजनामा जनसहभागीता बढाउन र नगरपालीकाबासी भएर केही पनी भएन भन्ने सोचबाट मुक्त हुन स्थानीयबासीलाई आग्रह गर्नुभयो । फोहोर व्यवस्थापन र योजनामा जनसहभागीता जुटाउन चुनौती देखिएको उहाँको भनाई थियो ।

फोहोर व्यवस्थापनका लागि टोल सुधार समितिलाई सक्रिय बनाउने कार्यकारी अधिकृत सुवेदीले प्रतिवद्धता जनाउनुभयो । यसैगरी नगरपालीकाको राजनितिक सल्लाहकार सदस्य अनोद श्रेष्ठले बेनी बाहेकका ठाउँका योजनालाई पनि प्राथमिकता दिएको तर स्थानीय स्तरमा जुटाउनुपर्ने रकम जुटाउन नसकेर योजना कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।

कार्यकारी अधिकृत सुवेदीको अध्यक्षता, कार्यक्रम अधिकृत सोविता कडेलको सञ्चालन र पत्रकार सन्तोष गौतमको सहजिकरणमा सम्पन्न कार्यक्रममा संगम म्याग्दीद्धारा सञ्चालित स्थानीय निकायको कानुनी तथा नितीगत व्यवस्था पालना अनुगमन कार्यक्रमका संयोजक सन्तोष ढुङ्गानाले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।

सन्तोष गौतम