मौरी व्यावसायमा वार्षिक लाखौं आम्दानी
- २३ पुष २०७४, आईतवार
- 4073 पटक पढिएको
बागलुङ, पुस २३ । बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोलेका खत्रीको वार्षिक आम्दानी रु १२ लाख भन्दा बढी छ । विदेशी मोह त्यागेर उद्यममा लागेका उनले व्यावसायिक सफलता हासिल गरेका हुन् । खत्रीको उद्योगमा वर्षमा ८ सयभन्दा बढी मौरीका घार बन्ने गरेका छन् । साठी भन्दा बढी घारमा मौरीपालन गरेका उनले वार्षिक सरदर ५ सय किलो मह बेच्ने गरेका छन् । प्रतिकिलो रु एक हजारमा मह बेचेर पनि खत्रीले राम्रो आम्दानी गर्दै खत्रीले वि.सं २०५० देखिको यो पेशालाई व्यावसायिक बनाएका हुन् ।
“शुरुमा रु पाँच लाख लगानी भएको थियो, केहीले उद्योगमा रोजगारी पाएका छन् ” खत्रीले भने । बुबाको सीप र अनुभवबाट सिक्दै परिवारनै मौरीपालनलाई व्यावसायिक बनाउन लागिपरेको खत्रीले बताए । उनको उद्योगमा बन्ने आधुनिक मौरीका घार लिन बागलुङसहित छिमेकी जिल्लाका किसानसमेत आउने गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले खत्रीकै उद्योगबाट वर्षेनी सयौँ घार खरिद गर्दै आएको छ ।
व्यावसायिक मौरीपालक किसानलाई अनुदानमा घार उपलब्ध गराउन कार्यालयले उक्त उद्योगबाट घार किन्ने गरेको छ । खुद्रा किन्दा प्रतिघार रु दुई हजार ५ सय पर्ने गरेको छ भने कृषि कार्यालयले एकमुष्ठ किन्दा प्रतिघार रु दुई हजार ४ सय तिर्ने गरेको छ । कार्यालयले सो मूल्यमा २५ प्रतिशत अनुदान कटौती गरी किसानलाई घार उपलब्ध गराउँदै आएको छ । पर्वत र म्याग्दीका कृषि विकास कार्यालयसँग पनि घार खरिदका लागि पहल गरिएको खत्रीले बताए ।
खत्रीको उद्योगमा आधुनिक ‘न्युटन बी’ सेरेनाको घार बन्ने गरेको छ । घार बनाउन प्रयोग हुने टुनी, उत्तीस, लाँकुरीजस्ता काठ गाउँमै खरिद गर्ने गरिएको छ । घार बनाउन चाहिने कच्चा पदार्थ र सामग्री बजारबाट किन्ने गरिएको उनको भनाइ छ । खत्रीका अनुसार उद्योगबाट मौरीसहितका घार पनि बेच्ने गरिएको र त्यस्तो घारको मुख्य रु छ हजार पर्छ । मौरीपालक बढेसँगै आधुनिक घारको माग पनि बढेको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ ।
मौरीपालक किसानलाई अनुदान उपलब्ध गराएपछि थप आकर्षण बढेको कार्यालयका कृषि प्रसार अधिकृत विप्लबप्रसाद अधिकारीले बताए । कार्यालयले किसानको दक्षता बढाउन सीपमूलक तालीममा पनि पठाउने गरेको उनको भनाइ छ । खत्रीका अनुसार हाल जिल्लामा सात हजारभन्दा बढी घारमा मौरीपालन गरिएको छ । रासस