परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा ७७ जनाले सेवा लिए
- २० पुष २०७४, बिहीबार
- 2817 पटक पढिएको
म्याग्दी, २० पुस । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा भएको निःशुल्क परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरबाट ७५ जनाले सेवा लिएका छन् । गत पुष १२ देखी २० गतेसम्म बेनी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ, अर्मन स्वास्थ्य चौकी, भुरुङ तातोपानी स्वास्थ्य चौकीमा आयोजित शिविरमा २४ जना महिलाले मनिल्याप र ५१ जना पुरुषले भ्यासेक्टोमी सेवा लिएको परिवार नियोजन सुपरभाइजर नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
व्यवस्थित परिवार बनाई सुखी र सम्पन्न जीवनयापन गराउने उद्देश्यसहित वार्षिक कार्यक्रम अनुसार आयोजित सेवामा
परिवार नियोजनको स्थायी बन्ध्याकरणका साथै अस्थायी साधनका बारेमा समेत परार्मश उपलब्ध गराइएको थियो । बिहिबार शिविर समापन कार्यक्रमको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसीले ग्रामिण क्षेत्रमा जनतालाई सेवा उपलब्ध गराउने गरी आयोजित शिविर प्रभावकारी हुने बताउँदै आगामी दिनमा समेत निरन्तरता दिन अनुरोध गर्नुभएको थियो ।
सन्तानको रहर पुगेका दम्पतिहरुका लागि लक्षित गरी सञ्चालित शिविरमा परिवार नियोजनसम्बन्धी अस्थायी तथा स्थायी सेवाको बारेमा परामर्श समेत दिइने बताइएको छ । शिविरमा डाक्टर लक्ष्मी गौतम, ओटी असिस्टेन्ट जानकी केसी बेनी अस्पतालको ओटी टिमले सेवा प्रवाह गरेका थिए । शिविरमा १ सय ५० जनाले पराशर्म लिएका थिए । समापन कार्यक्रमको अध्यक्षता डा. रोशन न्यौपाने, सञ्चालन नारायणप्रसाद रेग्मीले गर्नुभएको थियो ।
]कार्यक्रम बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल, अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी, अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी लगाएतको उपस्थिती रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालयले नियमित रुपमा परिवार नियोजनसम्बन्धी सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ । सोही अवसरमा विगत तीनबर्ष देखी लगातार शिविरमा सहभागिता जनाउनुभएकी डा. लक्ष्मी गौतम र बेनी नगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको थियो ।