फुटवल खेलाडी हुँदै रेफ्रि बनायो जेसीजकपले : इपेन तिलिजा

  • १९ पुष २०७४, बुधबार
  • कमल खत्री
  • 2555 पटक पढिएको

म्याग्दी, १९ पुस । म बेनी बोडिङ स्कुलमा पढ्थे । हरेक बर्ष आयोजना हुने जेसिजकप फुटवलले हामीलाई बर्ष भरी नै कौतुहलता उत्पन्न गराउँथ्यो । जेसीज कपकै लागि भनेर हामीले हरेक दिन फुटवल अभ्यास गथ्र्यौँ । म कक्षा ७ देखि नै जेसीज कप खेल्न थालेको हुँ । त्यतिबेला बेनीमा फुटवल सम्बन्धी प्रतियोगिता भनेकै जेसीज कप मात्रै थियो । त्यसैले विद्यार्थीहरुका माझ त त्यो निकै ठुलो प्रतिष्ठाको बिषय थियो नै । त्यसमा पनि यहाँका फुटवल सम्बन्धी चासो राख्नेहरुको लागि पनि उत्तिकै महत्वपूर्ण प्रतियोगिता । बेनी बोडिङमा अध्ययन गर्दा मेरै नेतृत्वमा रहेको टिमले २ पटक सम्म जेसीजकपको उपाधी उचालेको थियो ।

वि.स. २०६३ र २०६४ सालमा भएको जेसीज कपमा हामीले बेनी बोडिङबाट उपाधी चुमेका थियौँ । २०६४ मा तिलिजाले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधी समेत हात पारेका थिए । ‘‘वास्तवमा हामी बेनीका फुटवल खेलाडीहरुलाई उत्पादन गरेकै जेसीजले हो भन्दा फरक पर्दैन, अधिकाँश विद्यार्थिहरु जेसिजकप खेल्ने उदेश्यले नै फुटवल सुरु गर्छन, जेसीजले खेलाडी उत्पादनमा मात्रै सहयोग गरेको छैन, खेल खेलाउने रेफ्रि समेत उत्पादनमा सहयोग गरेको छ,’’– तिलिजा भन्छन् ।


जेसीज कप फुटवल खेलेर उपाधी समेत हात पारिसकेका तिलिजाले अहिले जेसीजकप फुटवल प्रतियोगितामा मुख्य रेफ्रिको भूमिका समेत निर्वाह गरेका छन् । बिगत ६ बर्षदेखि नै जेसीज कप फुटवलमा अफिसियलको भूमिकामा रहँदै आएका तिलिजाले तीन बर्षसम्म लगातार मुख्य रेफ्रिको भूमिका समेत निभाए । ‘‘ अन्त कतै गएर रेफ्रि तालित लिएको छैन, तीन बर्ष जति अग्रज खेलाडी हरि गिरी ज्यूहरुको अफिसियल टिममा बसेर जेसीज कपमा काम गरेँ, काम गर्दै जाँदा धेरै अनुभवहरु पनि बटुलियो, अहिले जिल्ला स्तरमा हुने थुप्रै खेलहरुमा मुख्य रेफ्रिकै जिम्मेवारी समेत सम्हाल्ने अबसर पाएँ,’’ तिलिजाले भने । यो पटकको जेसीज कपमा हामी बेनी र पर्वत बेनीका सबै क्लबहरुबाट मिलेर टिममा काम ग¥र्यौ ।

हामी सबै जसो बिगतमा जेसीजकप प्रतियोगितामा सहभागी भएका खेलाडी हौँ । प्रतियोगितालाई सकेसम्म निष्पक्ष बनाउने हाम्रो धर्म हो र त्यो हामीले पुरा गरेका छौँ । हुनत खेलकुदमा रेफ्रिले खेल्ने भूमिका सबैलाई चित्त नबुझ्न पनि सक्छ । सकभर आफ्नो टिमको कमजोरी नदेखदियोस भन्ने चाहना हुन्छनै । यस्ता अनुभव म खेलाडी भएर भूमिका निभाउँदा मलाई पनि भएकै छ । तर आयोजकले विश्वास गरेर दिएको जिम्मेवारीमा आफुले आफ्नो क्षमताले भ्याएसम्म कुसलतापूर्वक पुरा गर्नु नै ठुलो कुरा हो । तिलिजाको नेतृत्वमा रहेको अफिसियसलहरुलाई आयोजक म्याग्दी जेसीजले समेत प्रतियोगितालाई विवादरहित तवरले सम्पन्न गराएकोमा सम्मान समेत गरेको थियो । ( इपेन तिलिजासंगको कुराकानीमा आधारित )

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l