महेन्द्ररत्न माविको५९ औ स्थापना दिवस: पुर्व विद्यार्थीद्धारा चार कोठे भवन निर्माण

  • १९ पुष २०७४, बुधबार
  • सन्तोष गौतम
  • 2117 पटक पढिएको

म्याग्दी १९ पुष । म्याग्दीको मंगला गाउँपालीका ३ मा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले व्यक्तिगत लगानीमा कक्षा कोठा भवन निर्माण गर्नुभएको छ । हाल हङकङमा बस्दै आउनुभएका पूर्व विद्यार्थी ईञ्जिनियर हर्कमान घर्तीले ११ लाख रुपैयाको लगानीमा चार कोठे पक्कि कक्षा कोठा भवन निर्माण गर्नुभएको हो । विद्यालयको ५९ औ स्थापना तथा अभिभावक दिवसको अवसर पारेर बुधबार घर्तीले सो भवनको उद्घाटन गर्नुभयो ।

ग्रामिण क्षेत्रका बालबालिकाले पूर्वाधार अभावमा असुबिधा भोग्न नपरोस र सुबिधा युक्त भवनमा बसेर पढ्न पाउन भनेर भवन बनाउन सहयोग गरेको घर्तीले बताउनुभयो । घर्तीले विद्यालयमा कम्प्युटर र पुस्तकालय सञ्चालनका लागि पनी सहयोग गर्नुभएको छ ।यसैगरी पूर्व प्रअ भानुभक्त ढकालले भवनमा थप अर्को एक कोठा निर्माण गर्न तिन लाख रुपैया सहयोग गर्नुभएको छ । विद्यालयलाई भवन, खेलमैदान लगायत पूर्वाधार निर्माणका लागि स्थानीय हिराप्रसाद तुलाचनको परिवारले आठ लाख पचास हजार रुपैया मूल्य बराबरको करिब सात रोपनी जग्गा खरिद गरेर उपलब्ध गराउनु भएको थियो ।कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा ५३४ जना विद्यार्थी अध्ययनरत छन् । २०६५ देखि सुरु भएको कक्षा ११ र १२ मा ११३ जना विद्यार्थी अध्ययनरत छन् । ११, १२ कक्षामा व्यवस्थापन र शिक्षा संकायको पठनपाठन सञ्चालन हुने गरेको छ ।

वार्षिक उत्सवमा मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकाले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर वृद्धीका लागि शिक्षण बिधीमा परिवर्तन र सिकाई उपलब्धिलाई जोड दिनुपर्ने बताउनुभयो । अध्यक्ष रोकाले गाउँपालीकामा रहेका सामुदायीक विद्यालयको दरबन्दि मिलान, शैक्षिक, भौतिक र प्रशासनीक सुधारमा प्राथमिकता दिएको बताउनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर रोकाको अध्यक्षता, शिक्षक डम्मरप्रसाद सुवेदीको सञ्चालन र शिक्षिका शुशिला रोकाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रअ कृष्णलाल सापकोटाले विद्यालयको शैक्षिक प्रीतवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा स्रोत व्यक्ति डेगबहादुर बानिया, पुर्व शिक्षक जितबहादुर रोका, जंगगंग अक्षयकोषका संयोजक तथा ३ नम्बर वडाका अध्यक्ष कबिन्द्र रोका, अभिभावक कलाधर कडेल र विद्यार्थी दिपा सापकोटाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।चन्दादाता यामबहादुर रोका, जितबहादुर रोका, शशीधर कडेल, केशव कडेल, दिर्घसेवी शिक्षक नरीश्वर सापकोटा, पूर्व खेलाडी किसान खड्का र रुपा रोकालाई सम्मान गरिएको थियो । वार्षिक उत्सवको अवसरमा अभिभावकहरुबीच खेलकुद प्रतियोगिता गरिएको थियो । विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । तस्बिर : डेक बानियाँको फेसबुकबाट

 

सन्तोष गौतम