पत्रकार महासंघ म्याग्दीको बैठक पर्यटकीय रुईसे– भेडीओढारमा (फोटोफिचर)
- २१ फाल्गुन २०७३, शनिबार
- कमल खत्री
- 4109 पटक पढिएको
म्याग्दी, २१ फागुन । नेपाल पत्रकार महासंघ म्याग्दीले आफ्नो नियमित बैठकलाई सदरमुकाम बाहिर आयोजना गर्ने परम्पराको थालनी गरेको छ । जिल्लाका पर्यटकीय तथा धार्मिक दृष्टिकोणमा महत्वपूर्ण मानिने क्षेत्रमा पुगेर त्यस क्षेत्रको सम्भावना र समस्याहरुलाई उजागर गर्ने उदेश्यले महासंघको नवनिर्वाचित समितिले आफ्नो नितिगत निर्णय गर्दै मासिक रुपमा बस्ने बैठक सदरमुकाम बाहिर गर्न थालेको हो ।
महासंघले पहिलो पटक शनिवार म्याग्दीको पर्यटकीय क्षेत्र रुईसे–भेडीओढारमा पुगेर नियमित बैठक तथा अबलोकन भम्रण सम्पन्न गरेको छ । महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माको नेतृत्वमा पुगेका शाखाका पदाधिकारी तथा सदस्यहरुले रुईसे र भेडिओढार क्षेत्रको पर्यटकीय तथा धार्मिक महत्वको बारेमा स्थलगत अध्ययन समेत गरेका छन् ।
पिप्ले, भगवती, दग्नाम र बेगखोला गाविसको सिमा क्षेत्रलाई समेटिएको समुन्द्री सतहदेखि २ हजार ५ सय ३० मिटर उचाईमा रहेको रुईसे–भेडिओढारमा बैठक बस्न पुगेको पत्रकार महासंघको टोलिले स्थानीय अगुवाहरुसंग त्यहाँको विकास, सम्भावना र चुनौतिहरुको बारेमा अन्र्तक्रिया समेत गरेको शाखाका सचिब गोरखनाथ सुवेदीले जानकारी दिनुभयो ।
बैठकले धौलागिरी आईसफल पदमार्गले समेटिएको यो क्षेत्र प्राकृतिक सौन्दर्यता र भौगोलिक विविधताको कारण पर्यटकीय दृष्टिकोणमा महत्पूर्ण हुने देखिएकाले त्यस क्षेत्रको विकासको लागि सम्बन्धित सरोकारवालासंग छलफल चलाउने निर्याण गरेको छ ।
रुईसे–भेडीओढार क्षेत्रबाट देखिने अन्नपूर्ण, निलगिरी, माचापुच्छ«े, धौलागिरी, गुर्जा लगायतका हिमालको मनोरम दृष्य र ढकमक्क फुलेको लालिगुराँस लगायतको प्राकृतिक सौन्दर्यतालाई सञ्चार माध्ययम मार्फत प्रचार प्रसार गरि पर्यटन प्रवद्र्धनमा सघाउने महासंघका जिल्ला अध्यक्ष शर्माले बताउनुभयो ।
कार्यक्रममा रुइसे भेडीओढार पर्यटन विकास समितिका अध्यक्ष देवेन्द्र केसी, सदस्य हरि भण्डारी, रिम मल्ल, स्थानीय अगुवा विनोद केसी, रिम केसी लगायतले सम्भावना बोकेर पनि अहिलेसम्म ओझेलमा परेको रुईसे–भेडीओढार क्षेत्रमा पत्रकार महासंघको नियमित बैठक नै बस्नु उदाहरणीय काम भएको बताउँदै पत्रकार महासंघको उक्त कदमले त्यस क्षेत्रको प्रचार प्रसार र पर्यटन विकासमा सघाउ पुग्ने धारणा राख्नुभयो ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l