धौलागिरी गाउँपालीकामा पशुपालनको सम्भावना
- १८ पुष २०७४, मंगलवार
- 1785 पटक पढिएको
म्याग्दी १८ पुष । म्याग्दीको धौलागिरी गाउँपालीकाका सरोकारवालाहरुबीच पशुपालनको सम्भावना र चुनौतीको विषयमा अन्तरक्रिया कार्यक्रम मुनामा सम्पन्न भएको छ ।
गाउँपालीकाको पशु सेवा शाखाको आयोजनामा जनप्रतिनिधि, पशु सेवा र स्वास्थ्य प्राबिधिक, गैरसरकारी संस्थाका प्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो । गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षता, नायव पशु सेवा प्राबिधिक पृथराज ढकालको सञ्चालन र पशु सेवा प्राबिधिक गिता नेपालीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीले म्याग्दी जिल्लाभरको र गाउँपालीकाको पशु सेवा शाखाका प्रमुख गिता नेपालीले गाउँपालीकाको वडागत रुपमा पशुपालनको, पशुजन्य बस्तुको उत्पादन र चालु वर्षका कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
पशु सेवा प्राबिधिक रेग्मीले कार्यपत्र प्रस्तुत गर्दै दूध, मासु र अण्डामा नेपाललाई आत्मनिर्भर बनाउने सरकारी लक्ष्य पुरा गर्न नश्ल सुधार, आहरा विकास, पशुपंक्षी स्वास्थ्य र बजारीकरणलाई प्राथमिकता दिएर योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
धौलागिरी गाउँपालीकामा चालु आर्थिक वर्षमा पशुपंक्षि विकास मन्त्रालयले ६५ लाख ६ हजार रुपैया बजेट पठाएपनी गाउँपालीकाले २० लाख ८१ ह्जार रुपैया स्वीकृत गरेको छ । गाउँपालीकाका अध्यक्ष पुन, उपाध्यक्ष रेशम छन्त्याल र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले परम्परागत शैलीको पशुपालनलाई व्यवसायीक, आधुनिकीकरण र बजारीकरणमा जोड दिइने बताउनुभयो ।