दिल्लीको तयारी, पारस तंग्रिँदै

  • २१ फाल्गुन २०७३, शनिबार
  • 2741 पटक पढिएको

88

काठमाडौं, २१ फागुन । केन्यासँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल आउन साता दिन बाँकी छ । यो अवस्थामा नेपाली क्रिकेटको ध्यान पारस खड्काको स्वास्थ्यस्थितिमा आएर रोकिएको छ । नेपाली राष्ट्रिय टिम केन्यासँगको खेलका लागि दिल्लीमा अभ्यास खेल खेलेर शुक्रबार काठमाडौं फर्किएको छ ।

अस्वस्थताका कारण कप्तान पारस भारत गएनन् । उनको अनुपस्थितिमा ज्ञानेन्द्र मल्लले कप्तानी सम्हाले । दुई साताअघि रिकरेन्ट एपेन्डिसाइटिस बिथ इन्टेसनाइनल अब्स्ट्रक्सन भएकाले अत्यधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियालाईसी तथा की होल सर्जरी (गुजुल्टिएका आन्द्राहरू मिलाउने) एवं इमर्जेन्सी ल्याप्रोस्कोपिक एपेन्डिक्टोमी गरिएको थियो ।

त्यसपछि फागुन ८ मा पारस ग्रान्डी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए । उनलाई निको हुन तीन साता लाग्ने बताइएको थियो । केन्यासँगको म्याचका लागि आफू तंग्रिन बाँकी रहेको पारस बताउँछन् । उनले भने, ‘अहिलेसम्म ठीकै छु, ३–४ दिनमा सबै थाहा हुन्छ ।’ पारसले खेले पनि ब्याटस्म्यानका रूपमा मात्र खेल्ने स्थिति रहेको बताइएको छ । तर उनी अझै केही भन्ने अवस्था नरहेको बताउँछन् ।

राजवाडा क्रिकेट क्लबसँग नेपाल पहिलो खेलमा पराजित हुँदा ज्ञानेन्द्रले शतक बनाएका थिए । दोस्रो खेलमा पनि उनले ९५ रनको इनिङ्स खेले । ज्ञानेन्द्रले ब्याटिङ नगरे पनि नेपालले तेस्रो खेल जितेको थियो । नेपालले पहिला दिल्लीमा एयर इन्डिया, अफगानिस्तान ‘ए’ सँग खेल्ने कार्यक्रम बनाएको थियो ।

पछि नेपालले स्थानीय टिमसँग खेलेर आएको हो । नेपालको निर्धारित तालिका नभएका कारण स्तरीय टिम नपाएको भन्ने आरोप तथ्यहीन भएको बलिङ प्रशिक्षक विनोद दास बताउँछन् ।

‘भारतमा तयारी राम्रै भयो । विकेटहरू त्यति सजिलो थिएन । बलिङका लागि फ्ल्याट विकेटहरू थियो । प्रतिद्वन्द्वीहरू पनि ठीकै थिए । शीर्षस्तरका नभए पनि हामीले प्रतिस्पर्धा गर्ने खालकै टिम थिए,’ स्तरीय टिम नभएकाबारे दासले भने, ‘मलाई त्यस्तो अनुभव भएन, मैले यो विषय बाहिर सुनें । जुन टिमहरू हामीले पायौं तिनीहरू राम्रै थिए, योग्य नै थिए । हामीले विगतमा भारतमा खेलेका जस्तै टिम थिए । तयारी हिसाबमा यो तीन खेल हामीले सोचेअनुरुप नै भयो । केन्यासँग खेलअघि यस्तो टिमसँग खेल्नु पर्याप्त थियो जस्तो लाग्छ मलाई । प्रतिद्वन्द्वी अझ राम्रो भएको भए हाम्रो स्किलको अझ परीक्षण हुने थियो ।’

उनले थपे, ‘मलाई हामीले दिल्लीमा तीन म्याच खेल्छौं भनेर थाहा थियो, को सँग खेल्दै छौं भन्ने थाहा थिएन । तालिका बनिरहेको थियो त्यो बेला । त्यहाँ गएपछि राजवाडा क्रिकेट टिमसँग खेल्यौं । त्यहाँको प्रिमियर लिग खेलेको टिम रहेछ, राम्रै थियो । पहिलो खेल हारेका हौं, दोस्रो खेल पनि राम्रो खेलेर जितेका हौं । तेस्रो खेल दिल्ली डाइनामोसँग खेल्यौं, राम्रै टिम थियो । भारतबाट यू–१९ विश्वकप खेलिसकेका २–३ खेलाडी थिए, रणजीमा ट्रायल दिएका केही खेलाडी थिए । खासै गुनासो गर्नुपर्ने ठाउँ म देख्दिनँ ।’

उनी योजनासाथ नेपालले पछिल्लो दुई अभ्यास खेल जित्न सकेको बताउँछन् । ‘जुन हिसाबको ब्याटिङ विकेट थियो त्यसमा योजना बनाएर पहिलो खेलपछि पुनरागमन गर्न सकेका हौं,’ दासले भने, ‘पहिलो खेलपछि हामी सल्लाह गरेर कस्तो लेन्थमा बलिङ गर्ने, फिल्डिङ कस्तो राख्ने निर्णय गरेका थियौं । हामीले छिटै सिकेर खेलमा फर्कन सकेका हौं जस्तो लाग्छ । ३ अभ्यास खेल र तीन दिनको प्रशिक्षणमा हामीले यहीं नै तयारी गरेका थियौं । जुन केन्यासँग तयारीका हिसाबले उपयोगी भयो ।’

नेपाली टिमको संयोजन पारस खेल्ने वा नखेल्नेमा टिकेको छ । दिल्लीमा अन्तिम दुई अभ्यास खेलमा राम्रो प्रभाव पारेपछि सुनील धमलाले ज्ञानेन्द्रसँगै ओपनिङमा ब्याटिङ गर्ने निश्चितजस्तै छ । तेस्रो नम्बरमा शरद भेषावकर आउने छन् । फिट भएमा पारसले चौथो नम्बरमा खेल्ने छन् । पाचौंमा सागर पुन र छैटौंमा विनोद भण्डारी हुनेछन् । विनोदले विकेटकिपिङ पनि सम्हाल्ने छन् । नामिबियासँग गत वर्ष उनले कीर्तिपुरमा भएको दोस्रो खेलमा पनि विकेटकिपिङ गरेका थिए । त्यसयता राजु रिजाल नेपाली टोलीको ग्लोभ्स लगाइरहेका थिए । तर राजु यसपटक प्रारम्भिक चरणबाटै बाहिरिए ।

तीव्र बलर सोमपाल कामी र तीन स्पिनरहरू शक्ति गौचन, वसन्त रेग्मी र सन्दीप लामिछानेले खेल्न सक्छन् । सातौं नम्बरमा एउटा अलराउन्डर वा सोमपालको जोडीमा तीव्र बलर करण केसी थपिने छन् । तर भारत भ्रमणमा सबै बलरले राम्रो गरेकाले यसैलाई खेलाउने वा बाहिर राख्ने भन्न निकै कठिन बनाएको दास बताउँछन् । ‘हाम्रो टिमको संयोजन राम्रै हुन्छ । जति पनि टिममा बलर राखेका थियौं, सबैले दिल्लीमा राम्रो गरे । उनीहरू आफ्नो स्थानका लागि संघर्ष गर्न तयार छन् । चाहे त्यो करण होस् वा सोमपाल या अरू कोही,’ उनले भने, ‘कसैलाई पनि प्लेइङ बाहिर राख्नु अगाडि सोच्नुपर्ने स्थिति छ । अहिलेको स्थितिमा कसलाई छान्ने हो भन्न सजिलो छैन । दुवै तीव्र बलरले राम्रो गरिरहेका छन् । सोमपालको बलिङमा केही समस्या थियो, नो बल फालिरहेको थिए । अहिले लयमा आएका छन्, चोट पनि छैन । करण र अविनाश कर्ण फिट छन् । अलिकति भुवन कार्कीको स्वास्थ्य समस्या आयो ।’

१९ खेलाडीमध्ये पारसबाहेक सबै दिल्ली गएका थिए । केन्यासँगको खेलमा १४ जनाले नेपाली टिममा स्थान पाउने छन् । १५ वर्षभन्दा बढी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका दास विकेट स्थिति हेरेर मात्र प्लेइङ ११ भन्नसक्ने जनाउँछन् । ‘विकेटमा अलिकति घाँस छ भने मिडियम पेसरले राम्रो गर्छन् । पहिलो हाफमा बल अलिकति मुभ हुन्छ, सिम पनि हुन्छ । त्यही भएर हामी सोमपाल र करण दुवैलाई खेलाउन सक्छौं । स्पिनर हाम्रो सँधैं राम्रो हो । आईसीसीकै मान्छे आएर विकेट बनाइरहेका छन्, कस्तो विकेट दिन्छन् त्यसमा हाम्रो टिम निर्भर हुन्छ,’ उनले भने ।

-कान्तिपुर