घोडेपानीमा पर्यटकलाई लक्षित गरेर होटलको क्षमत्ता विस्तार

  • १३ पुष २०७४, बिहीबार
  • 1759 पटक पढिएको

म्याग्दी १३ पुष । आन्तरीक तथा बाह्य पर्यटकको आगमनसंगै म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीका व्यवसायीले होटलको क्षमत्ता बढाउन थालेका छन् । काठ, ढुङ्गा र माटोले बनेका घर विस्थापित गरी करोडौ लगानीमा पक्कि भवन निर्माण गरेका छन् ।

पछिल्लो पाँच वर्षयता दुई वटा नयाँ होटल थपिएका र चार वटाले क्षमत्ता विस्तार गरेका घोडेपानी होटल व्यवस्थापन उपसमितिले जनाएको छ । २ वटा क्षमत्ता विस्तारको क्रममा छन् । हाल घोडेपानीमा रहेका २३ वटा होटलमा दैनिक ८०० जना देखि ९०० जना सम्म बास बस्न सक्ने उपसमितिका उपाध्यक्ष शुशिल पुनले जानकारी दिए ।

पहिले यहाँका होटलहरुको क्षमत्ता दैनिक ६०० जना थियो । पर्यटकले कोठा नपाउने समस्या हटेको छ । केही वर्ष पहिलेसम्म घोडेपानीका होटल भरिभराउ हुँदा नजिकैका ठाउँमा पुग्नुपर्ने समस्या थियो । होटल स्नो भ्युका सञ्चालक टेकसर बुद्धुजा पुनले पर्यटकको माग र आवश्यकता अनुसार नयाँ संरचना निर्माण गरिएको छ ।

भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने घोडेपानीका होटलमा सहरी क्षेत्र सरहको सुबिधा उपलब्ध छ । खान र बस्नको अतिरिक्त तिब्र गतिको ईन्टरनेट, एट्याच बाथरुम, तातो पानीले स्नान गर्ने सुबिधा छ । होटलका लागि एउटा पक्कि भवन निर्माणका लागि दुई देखि तिन करोड रुपैया सम्म लगानी भएको सञ्चालक बताउँछन् ।

कच्चि सडक, खच्चर र भरिया मार्फत निर्माण सामाग्री ढुवानी गर्नुपर्दा भवन निर्माणमा लागत बढी भएको पिस एक्सीलेन्ट होटलका सञ्चालक चन्द्रबहादुर बुद्धुजाले बताए ।
रातो र निलो जस्तापाताले छाएको घरहरु भएको घोडेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल र गुरासे जंगलको अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोडेपानीमा हिमशृङखला, सुर्योदय, गुराँसे जंगल, मगर संस्कृती, पहाडी सौन्दर्यता र पदयात्रामा रमाउनका लागि पर्यटक आउने गर्छन् ।