डम्मराका महिलाहरुको माग  समृद्धिका लागि महिला सहभागिता अनिवार्य

  • १३ पुष २०७४, बिहीबार
  • 1507 पटक पढिएको

म्याग्दी, १३ पुस  ।  बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीको आयोजना तथा बेनी नगरपालिका वडा न. ६ को सहयोगमा सोही वडाको डम्बरामा सञ्चालित ३ दिने जनचेतनामुलक तालिम बिहीवार सम्पन्न भएको छ । दलित, विपन्नता, द्वन्द्वपीडित, बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा तिनका अभिभावकहरु र उद्यमी महिलाहरुलाई सहकारी मार्फत आयआर्जन अभिवृद्धि गर्ने उदेश्यका साथ तालिम आयोजना गरिएको बौद्धिक अपाङ्गगता अभिभावक संघ म्याग्दीका अध्यक्ष यामबहादुर बाँनियाले जानकारी दिनुभयो ।

तालिममा विपन्न वर्गका जनताको आयआर्जन, सहकारी मार्फत परिचालन, समाज रुपान्तरणमा सहकार्य लगायतका विषयमा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसी र म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख टिकाराम सापकोटाले सहजीकरण गर्नु भएको थियो । तालिममा बेनी नगरपालिका वडा नं. ६ का दलित, विपन्नता, द्वन्द्वपीडित बौद्धिक अपाङ्गता भएका लगायत उद्यमशिल महिलाहरु गरी ६० जनाको सहभागिता रहेको थियो ।

तालिम समापनका क्रममा सहभागी महिलाहरुले समाजको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि महिलाहरुलाई सक्षम बनाउनु पर्नेमा जोड दिएका थिए ।   नीति निर्माण, विकास निर्माण लगायत समाज रुपान्तरणका हरेक क्षेत्रमा महिलाहरुको निर्णायक सहभागिता हुनु पर्नेमा उनीहरुको जोड थियो ।   आर्थिक विकासका लागि महिलालाई सक्षम बनाउन पर्ने भन्दै उनीहरुले महिलाको सहभागिता बिना देशको आर्थिक विकास संभव नभएको बताएका थिए ।

कार्यक्रममा सहभागीहरु तेजकुमारी बाँनिया, उषा किसान, गोमा रिजाल लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।   समापन कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा तालिमका प्रशिक्षक रामबहादुर जिसीले स्थानीय स्तरमा रहेका स्रोतहरुको पहिचान, परिचालन र बजारीकरण गरेर जनताको आयस्तर माथि उठाउन सकिने धारणा राख्नु भएको थियो । बेनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बाँनियाले राज्य, सहकारी र नीजि क्षेत्रबीच समन्वय गरेर वडाको आर्थिक तथा सामाजिक विकास गर्ने आफ्नो योजना रहेको जानकारी  गराउदै सहयोग गर्न सबैसंग आव्हान गर्नु भएको थियो ।