म्याग्दी सामुदायीक विकास परियोजनाबाट साढे ११ सय बालबालिका लाभान्वित

  • ११ पुष २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 1519 पटक पढिएको

म्याग्दी, ११ पुष । म्याग्दीको धौलागिरी गाउँपालीकाको ५ वटा वडामा सञ्चालीत म्याग्दी सामुदायीक विकास परियोजनाबाट करिब साढे एघार सय बालबालिका लाभान्वित भएका छन् । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक सहयोगमा संगम र कदम म्याग्दीद्धारा गुर्जा, लुलाङ, मुना, मुदी र मराङमा रहेका १९ वटा सामुदायीक विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका बालबालीकाको शिक्षामा पहुँच वृद्धी र गुणस्तर सुधारका लागि परियोजनाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

बेनीमा मंगलबार भएको समन्वय बैठकमा परियोजनाका जिल्ला संयोजक टुपेन्द्र खुलाल बस्नेतले एक हजार १४२ जना बालबालीकाका प्रत्यक्ष लाभान्वित भएका जानकारी दिनुभयो । परियोजनाले बालबालिकालाई पोशाक, झोला, जुत्ता, कापी, कलम लगागत शैक्षिक सामाग्री समेत उपलब्ध गराएको छ ।

परियोजनाले भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने सो क्षेत्रमा शिक्षा, स्वास्थ्य, आयआर्जन, वातावरण, विपद व्यवस्थापन, खानेपानी तथा सरसफाई र बालअधिकारको पैरवीको क्षेत्रमा विभिन्न गतिबिधी गरेको छ । परियोजनाको बिस लाख ४५ हजार ७७६ रुपैया सहयोगमा लमसुङ मावीको कक्षा कोठा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

खोरीया र सुर्यज्योती आधारभुत विद्यालयमा दश लाख ६० हजार ९४४ रुपैया सहयोगमा छात्रामैत्री शौचालय निर्माणाधिन अवस्थामा छ । जनकल्याण मावि गुर्जा र चन्द्रज्योती मावि खिवाङमा विज्ञान र जनकल्याण मावि र धवलागिरी आधारभुत विद्यालय मुनामा कम्प्युटर ल्याब स्थापना भएको छ ।

धौलागिरी गाउँपालीका ४ बगरा गाउँमा गाउँघर किल्नीकको भवन निर्माणका लागि नौ लाख रुपैया सहयोग गरेको परियोजनाले स्वास्थ्य संस्थाहरुमा उपचार सहयोगी उपकरणहरु सहयोग गरेको जनाएको छ । ४ वटा सहकारी संस्था मार्फत आयआर्जन वृद्धीका लागि पचास लाख रुपैयाको घुम्ती कोष परिचालन भएको छ ।

जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र धौलागिरी गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्यालले स्थानीय तहसंग सहकार्य गरी दुर्गम क्षेत्रको शैक्षिक विकासमा प्रभावकारी भुमिका खेल्न परियोजनालाई सुझाव दिनुभयो ।

संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलको सञ्चालन र कदमका अध्यक्ष हरिप्रसाद पौडेलको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । संगम म्याग्दीका कार्यक्रम संयोजक चिरञ्जिवी रेग्मी र कदमकी जनस्वास्थ्य सहायक निरमाया मिजारले संस्था मार्फत भएको गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो ।

सन्तोष गौतम