मुक्तिमार्ग माविको ५९ औँ बार्षिकोत्सव मनाईयो
- ११ पुष २०७४, मंगलवार
- सुरेन गुरुङ
- 1661 पटक पढिएको
घार, ११ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माध्यमिक विद्यालयले आफ्नो ५९ आँै बार्षिकोत्सव तथा अभिभावक दिवस मंगलवार विविध कार्यक्रम सहित बनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालको अध्यक्षतामा भएको कार्यक्रमको अन्नपूर्ण गाउँपालिका प्रमुख क्याप्टेन डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाठन गर्दै गाउँपालिका प्रमुख पुनले सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर प्रमुख समस्याको रुपमा देखिएको बताउँदै विद्यालयका सम्पूर्ण सरोकारवालाहरु गम्भिर बन्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा स्रोत व्यक्ति भरत पुन, वडा अध्यक्ष कृष्ण प्रसाद बरुवाल, पूर्व स्रोत व्यक्ति रामचन्द्र पुरी, याम बहादुर खड्का, लगायतले मन्तव्य राख्नुभएको थियो ।
शिक्षक ठगराज बरुवालले स्वागत गर्नुभएको कार्यक्रममा शिक्षक रामकृष्ण खड्काले आर्थिक र प्रधानध्यापक मेखबहादुर खड्काले समग्र विद्यालयको गतिविधि समेटीएको प्रतिबेदन प्रस्तुत गरेका थिए भने शिक्षक बिमल बरुवालले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा पूर्व विद्यार्थी, बद्री बरुवाल, प्रशान्त रेग्मी, क्याप्टेन युवराज गर्वुजा पुनले समेत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा पूर्व विद्यार्थी बद्री बरुवालले रेखा ट्रष्टको तर्फबाट दुई जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको थियो भने क्या. युवराज गर्बुजा पुनले रु २० हजार आर्थिक सहयोग गर्नुभएको थियो । बार्षिकोत्सवको अबसरमा विद्यालयले विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम समेत सम्पन्न गरेको छ ।
यसैबिच सो कार्यक्रममा विद्यालयको नयाँ भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने र नगद सहयोग गर्नुहुने टिकाबहादुर खड्का लगायतका दाता र सहयोगीहरुलाई सम्मान गरिएको थियो । यसैगरी प्रवासमा रहेर भवन निर्माणका लागि १६ लाख ७७ हजार ५०० रुपैया जुटाउनुका साथै व्यक्तिगत रुपमा २५ हजार रुपैया सहयोग गर्नुहुने पुर्व विद्यार्थी प्रशान्तमोहन रेग्मीलाई पनी सम्मान गरिएको थियो । विद्युतीय पुस्तकालयका दाताहरुलाई समेत सम्मान गरिएको थियो ।