गलेश्वर आश्रम देवघाटमा धन–धान्याचल विराट् महायज्ञ हुने
- ११ पुष २०७४, मंगलवार
- 2134 पटक पढिएको
म्याग्दी, ११ पुस । नवलपरासी, चितवन र तनहुँ जिल्लाको संगममा अवस्थित गलेश्वर आश्रम देवघाटमा धन–धान्याचल विराट् महायज्ञ हुने भएको छ । बैदिक सनातन धर्म संस्कृति र संस्कृतविद्याको संरक्षण गर्ने, आध्यात्मिक चेतनाको प्रचार प्रसारद्धारा समाजलाई नैतिक र चरित्रवान बनाउने,ऋषिमुनीहरुद्धारा प्रवर्तित यज्ञीय संस्कृतिको पुनर्जागरण गर्ने, पवित्र तीर्थस्थल देवघाटधामको प्रचार प्रसार एवम् धार्मिक पर्यटनको अभिबृद्ध गर्ने उदेश्यले आगामी माघ २१ गतेदेखि फागुन २ गतेसम्म विराट् महायज्ञ हुन लागेको हो ।
महायज्ञ सफल बनाउन मुल आयोजक समितिले देशका विभिन्न स्थानमा पुगेर महायज्ञको महत्वको बारेमा जानकारी गराउँदै सहयोग समिति गठन कार्यलाई तिब्रता दिएका छन् । मंगलवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा महायज्ञका संकल्पकर्ता अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले त्रिशुल र कालिगण्डकी नदीको संगम स्थलमा पर्ने गलेश्वर आश्रम देवघाट क्षेत्रमा भौतिक पूर्वाधार विस्तार, संस्कृतिविधाको संरक्षण र धार्मिक पर्यटन विकासको निम्ती विराट महायज्ञ आयोजना गरिएको बताउनुभयो ।
महाशिवरात्रीको अवसरमा आयोजना हुन लागेको विराट महायज्ञको तयारीलाई समेत तिब्र पारिएको उहाँले बताउनुभयो । महायज्ञका संकल्पकर्ता महाराजको अध्यक्षतामा १ हजार ८ सदस्यीय मुल आयोजक समिति, विभिन्न ३३ वटा उपसमिति र विभिन्न जिल्लामा सहयोग समिति गठन भएको मुल आयोजक समितिका उपाध्यक्ष महेश पराजुलिले बताउनुभयो । म्याग्दीमा मंगलवार भएको एक भेलाले सरोज बानियाँको अध्यक्षतामा सहयोग समिति गठन भएको छ ।
मुल आयोजक समितिले महायज्ञमा दान गर्ने दाताहरुलाई सम्मान गर्ने र दाताहरु मार्फत संकलन हुने आउने रकमबाट वेद वेदाङ्ग विद्यालयको स्तरोन्नति गर्ने,स्थायी अन्नक्षेत्रको सुदृढिकरण गर्ने, अति बृद्धबृद्धाहरुको सेवाकेन्द्र स्थापना गर्ने, देवघाट धर्मार्थ अस्पताको सेवा विस्तार गर्ने शिवालय मन्दिरको नृत्य पुजा सञ्चानलमा उपयोग गर्ने जनाएको छ । हालै करिब रु ८ करोड लागनमा निर्माण भएको शिवपञ्चायन मन्दिरको समुद्घाटन एवम् देवमुर्तिहरुको विधिपूर्वक प्राणप्रतिष्ठा समेत महायज्ञकै अवसरमा गरिने जनाईएको छ । देवघाटमा अहिले करिब तीन सय कुटी रहेका छन भने झण्डै ३ सय बढीले दैनिक निशुल्क भोजन समेत गर्दै आएका छन् ।