ज्याम्रुङ्गको दलितबस्तीमा झाडापखाला, ५८ बिरामी, १८ जना अस्पतालमा भर्ना

  • २० फाल्गुन २०७३, शुक्रबार
  • 2039 पटक पढिएको

काठमाडौं, २० फागुन । विषाक्त खाना र दूषित पानी पिउँदा ज्याम्रुङ्ग–७, स्थित दलितबस्ती कुमाईगाउँमा झाडापखाला फैलिएको छ । पानीको चरम अभावका कारण एक हप्ताअघि मात्रै बस्तीमा एक दर्जन प्लास्टिक ड्रमका राखेर खानेपानी संकलन र वितरण गरिएको दलित बस्तीमा मंगलबारबाट झाडावान्ता र पखालाको प्रकोप फैलिएको हो ।

Haspital_dhading--3--03032017032443-1000x0

एकै परिवारका १८ जना बिरामी भएपछि सदरमुकामस्थित जिल्ला अस्पतालमा पुर्‍याएइको छ भने थप ४० जना बस्तीमै छटपटाइरहेका छन् । ‘आफ्ना परिवार र ससुराली खलक पुरै बिरामी भएको खबर पाएपछि दुई खेपमा एम्बुलेन्समा ओसारें । अरु बिरामी ल्याउन एम्बुलेन्स पाइएको छैन,’ अस्पतालमा आफन्तहरुको उपचार गराइरहेका नवराज मजाकोटीले भने ।

Haspital_dhading--4--03032017032442-1000x0

गत बुधबार नवराजका ससुरालीखलकमा जेठान सुरेश नेपालीका छोरा प्रकाशको क्षौर कर्म गरे बापत सबैलाई भोज दिइएको थियो । तर, भोज खाएर हैन, नखानेहरु पनि बिरामी छन्, भोजभन्दा अगावै बिरामी हुन थालेका थिए’ बिरामी लिएर आएका अर्का युवा दमन विकले भने ।

‘भूकम्पमा काम गर्न आएको संस्थाले झाक्रेखोला मुहानबाट पानी ल्याएर गत हप्तामात्रै १ हजार लिटर क्षमताका १२ वटा काला ड्रमहरु बस्तीका विभिन्न स्थानमा राखिदिएको थियो । संस्थाको नाम बताउन नसक्ने स्थानीयवासीहरुले विगत १ हप्तादेखि सोही ड्रमको पानी पिउँदै आएका थिए । नयाँ ड्रमको पानी अलि ह्वास्सै गन्हाउने थियो’–दमनले भने । ‘सबैलाई स्लाईन पानी चढाएर आवश्यक उपचार गरिरहेका छौं, तत्काल उपचार पाएकोले सबैको अवस्था सामान्य हुँदै गएको’ जिल अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रसिला अमात्यले बताइन् । डाक्टर रसिलाका अनुसार बस्तीमै उपचार गर्न स्वास्थ्यकर्मीको टोली पठाइएको र स्थानीयवासीको दाबी जे भए पनि विषाक्त खानाका असरहरु देखा परेका छन् । प्रजिअ उमेश ढकालले दूषित पानीको कारण पत्ता लगाई कारबाही गरिने बताए ।

ज्याम्रुङ्गको दलित लगायत अधिकांश बस्तीहरु खानेपानीको चरम अभाव छ । भूकम्पपछि कतिपय मुहान सुकेपछि स्थानीयवासी पानीकै लागी झनै सास्ती व्यहोर्नु परेको छ ।

-कान्तिपुर