जलजला गाउँपालीकामा अनलाईन व्यक्तिगत घटना दर्ताको तयारी
- २ पुष २०७४, आईतवार
- सन्तोष गौतम
- 1785 पटक पढिएको
बेनी २ पुष । जलजला गाउँपालीकाले अनलाईनबाट व्यक्तिगत घटना दर्ता सुरु गर्ने तयारी गरेको छ । जन्म, मृत्यु, विवाह बसाईसराई र सम्बन्ध बिच्छेदका घटनाको दर्ता अनलाईनबाट गर्ने तयारी गरिएको हो । अनलाईन व्यक्तिगत घटना दर्ता सुरु गर्नुअघि आवश्यक तयारी र प्राबिधिक विषयमा जानकारी दिनका लागि आईतबारदेखि तिन दिने तालीम सञ्चालन गरिएको छ । तालीममा सबै वडाका अध्यक्ष, सचिव र सामाजिक परिचालकहरुको सहभागीता रहेको छ । माझफाँट स्थित गाउँपालीकाको कार्यालयमा आयोजित तालीम उद्घाटन कार्यक्रममा ९ वटै वडाका सचिवको नाममा अनलाईन व्यक्तिगत घटना दर्ताका लागि आईडी खोलीएको छ ।
तालीमको उद्घाटन गर्दै गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सूचना प्रबिधिको प्रयोगले सार्वजनीक सेवालाई छिटो, छरिटो र प्रभावकारी बनाउन सघाउने अपेक्षा गरिएको बताउनुभयो ।कार्यकारी अधिकृत कृष्णप्रसाद गौतमले सेवा प्रवाहलाई प्रबिधिमैत्री, पारदर्शी र अभिलेखलाई व्यवस्थित गर्न अनलाईन व्यक्तिगत घटना दर्ता प्रभावकारी हुने बताउनुभयो ।
वडा न. ३ का कार्यवाहक वडा अध्यक्ष चन्द्रबहादुर खत्रीको अध्यक्षता, नायव सुब्बा भुवनबहादुर मल्लको स्वागत मन्तब्यमा सम्पन्न तालीम उद्घाटन कार्यक्रममा २ नम्बर वडाका अध्यक्ष गोविन्द खत्रीले मन्तब्य व्यक्त गर्नुभएको थियो । तालीमको मिमबहादुर थापा र कुलचन्द्र रेग्मीले सहजिकरण गर्नुहुने जनाइएको छ ।