शिखको गिवाङमा हार्तुखोला खानेपानी योजना निर्माण

  • २९ मंसिर २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 1473 पटक पढिएको

म्याग्दी २९ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखको गिवाङमा हार्तुखोला खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ ।२६ लाख ६५ हजार ५८६ रुपैयाको लागतमा निर्माण भएको आयोजनाबाट भौगोलिक रुपमा बिकट, दुर्गम र छरीएको बस्ती रहेको गिवाङका १४ घरपरिवार लाभान्वित भएका छन् । सबै उपभोक्ताको घरमा निजी धारा जडान गरिनुका साथै २ वटा सार्वजनीक धारा समेत सञ्चालन भएको छ ।

त्यहाका बासिन्दाले यसअघि निजी लगानीमा पाईपबाट घरमै पानी ल्याएर उपभोग गर्दै आएका थिए । जिल्ला समन्वय समिति अन्तरगत सञ्चालीत पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्तरगत आयोजना निर्माण भएको हो । आयोजना निर्माणका लागि फिनल्याण्ड सरकारको ११ लाख २६ हजार २१ र नेपाल सरकारको ११ लाख २६ हजार २१ रुपैया लगानी भएको छ ।

यसैगरी जिल्ला समन्वय समितिले एक लाख ४६ हजार ५८३, तत्कालीन शिख गाविसले दुई लाख १९ हजार ८७५ अनुदान उपलब्ध गराएको छ भने उपभोक्ताले दश लाख २६ हजार ८४ रुपैया बराबरको श्रमदान गरेका छन् । गिवाङमा कम घरधुरी भएकाले पाउद्धार गाउका बासिन्दाले समेत श्रमदानमा सहयोग गरेका थिए ।

हार्तुखोलाको मुहानदेखि पाच हजार ३४० मिटर लामो मुख्य पाईपलाईनबाट ल्याइएको पानी तिन वटा २ घन मिटर र एक वटा ३ घनमिटर क्षमत्ताको रिजर्भ टंकीमा संकलन गरि दुई हजार ८१ मिटर शाखा पाईप लाईन मार्फत घरघरमा वितरण गरिएको छ । एक वर्षअघि सुरु भएको आयोजना सञ्चालनमा आएपछि हालै परियोजनाको टोलीले तेस्रो पटक अनुगमन गर्नुका साथै सार्वजनिक परिक्षण समेत गरिएको छ ।

आयोजनाको उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर तिलीजाको अध्यक्षता र वास संयोजक गंगाधर गौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा परियोजनाका सान्ना लिना राउटेनन्, वास सल्लाहकार थरेन्द्र पौडेल, गाउपालीकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहाल, वडा सदस्य धनबहादुर पाईजा, ईञ्जिनियर गौरव शर्मा, परियोजनाको समन्वय कार्यालय पोखराका महेश देवकोटा र प्राबिधिक विपीन आचार्यको उपस्थिती रहेको थियो ।

 

सन्तोष गौतम