केसी प्रदेशकै कान्छा सांसद

  • २६ मंसिर २०७४, मंगलवार
  • 1515 पटक पढिएको

म्याग्दी, २६ मंसिर । म्याग्दीका विनोद केसी प्रदेश नं ४ मा प्रत्यक्ष निर्वािर्चत हुने सबैभन्दा कम उमेरका सांसद बनेका छन् । प्रदेश नं ४ (क)मा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का ३३वर्षीय केसी कान्छा सांसद बनेका हुन् । चौध हजार ७०४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वा्चित भएका केसीका प्रतिस्पर्धी राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १७५ मत प्राप्त गर्नुभयो ।


बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र (क)मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो । केसीलाई एमाले र गौचनलाई नेपाली काँग्रेसले समर्थन गरेको थियो ।

विसं २०४१ असार २४ गते जन्मेका बेनपा–८ निवासी केसी शहिद परिवारका सदस्य हुन । उनका दाजु मदनको द्वन्द्वकालमा तत्कालीन शाही सेनाबाट हत्या भएको थियो । हाल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य, बेनी नगर कमिटीका उपाध्यक्ष रहेका केसीले दाजु मदनबाट प्रभावित बनेर माओवादी राजनीतिमा सक्रिय भएको बताउछन् ।

दाजु दिवंगत भएपछि घरव्यवहार धान्नका लागि केसीले विसं २०६० देखि करिब पाँच वर्ष ट्याक्सी चालकका रुपमा काम गरेक थिए । म्याग्दी ट्याक्सी व्यवसायी समितिका संस्थापक अध्यक्ष रहेका केसी यातायात व्यवसायीमा पनि रहेक छन् । केसी जिल्ला खेलकुद विकास समितिको पूर्व अध्यक्ष हुन । प्रदेशसभा सदस्यमा विजयी भएपछि केसीले कसैप्रति पूर्वाग्रह नराखी सबै जिल्लावासीको साझा प्रतिनिधिका रुपमा जनताको समस्या समाधानका लागि काम गर्ने बताउएका छन् ।

स्थानीयस्तरमा रोजगारी सिर्जना र स्वरोजगार बन्ने वातावरण बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारबीच पुलको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभएका केसीले जिल्लाको जलविद्युत, पर्यटन, वनपैदावार, कृषि क्षेत्रको विकास, समृद्धि र जिल्लावासीको जीवनस्तरमा सुधारमा पहल गर्नेमा जोड दिएका छन् ।

म्याग्दीको प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका भूपेन्द्रबहादुर थापाले २३ हजार ३०३ र प्रदेशसभा क्षेत्र (ख)मा एमालेकी नरदेवी पुन १० हजार ८६८ मत प्राप्त गरी विजयी भएका छन् ।