यसरी गयो बागलुङ पहिलो पटक वामपन्थीको कब्जामा

  • २३ मंसिर २०७४, शनिबार
  • 1781 पटक पढिएको

यसअघि अधिकांश समय काँग्रेसले चुनाव जित्दै आएको बागलुङमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका सबै सिट बाम गठबन्धनले जितेको छ । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा गरि पुरै ६ सिटका लागि यहाँ मंसिर १० गते पहिलो चरणमा चुनाव भएको थियो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले वाम गठबन्धन बनाएर चुनाव लडेका थिए ।

काँग्रेस भने त्यति प्रभाव नरहेको राष्ट्रिय प्रजान्त्र पार्टीको समर्थनमा निर्वाचनमा होमिएको थियो । आज बिहान सबेरै सकिएको मतगणनाको परिणाम अनुसार गठबन्धनका उम्मेदवारले काँगे्रस उम्मेदवारलाई ३ हजारदेखि १३ हजार भन्दा बढीको भारी मतान्तरले पराजित गर्दै क्लिनस्वीप गरेका छन् । तर रातभरको गणनापछि विहान झण्डै चार बजे अन्तिम नतिजा सार्वजनिक भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी भएकाहरुको आधिकारीक घोषणा सहित प्रमाणपत्र भने प्रदान गरेको छैन । आज बिहान प्रमाण पत्र प्रदान गर्ने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत प्रकाश पण्डितले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम नतिजा अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेका सुर्य पाठकले काँग्रेसका चम्पादेबी खड्कालाई १३ हजार ४१ मत अन्तरले पराजित गरेर विजयी भएका छन् । एमालेका पाठकले ३३ हजार ६ सय ५७ मत ल्याउँदा काँग्रेसका खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरेका छन् ।

पाठकले काँग्रेस भित्र बलियो उम्मेदवार मानिएकी गरिबी निवारण मन्त्री समेत रहेकी खड्कालाई निकै ठुलो मतान्तरले पराजित गरेकी हुन् । सबै सिटमा ३ हजार भन्दा बढी मत अन्तरले काँग्रेस पराजित भएकोमा सबैभन्दा बढी मत ल्याएर विपक्षीलाई हराउने उम्मेदवार डाक्टर पाठक नै बनेका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका स्थायी समिति सदस्य देबेन्द्र पौडेलले ८ हजार ९ सय २२ मत बढी ल्याएर काँग्रेसका नरबहादुर पुनलाई पराजित गरे । बागलुङ अमलाचौरका पौडेल पहिलो पटक गृह जिल्लाबाट चुनाव लडेर निर्वाचित भएका हुन् । माओवादीका पौडेलले २८ हजार ८ सय २७ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी पुनले १९ हजार ९ सय ५ मत पाए । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सम्मुखमै आएर नयाँ शक्तिमा विद्रोह गर्दै माओवादी केन्द्र प्रवेश गरेका पौडेलले पनि राम्रै मतान्तरले काँग्रेस उम्मेदवारलाई पछि पारेका हुन् ।

बागलुङ–१ को प्रदेश सभा ‘क’ मा एमाले बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले ५ हजार ९ सय २६ मत अन्तरले काँग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापालाई पराजित गरे । सापकोटाले १७ हजार ९ सय १५ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी थापाले ११ हजार ९ सय ८९ मत पाएका छन् ।

प्रदश ‘ख’ मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले ६ हजार ५ सय ६९ मत अन्तरले काँग्रेसका प्रकाश शर्मालाई पराजित गरे । थापाले १५ हजारा ६ सय ३६ मत ल्याए भने पुर्व सांसद शर्माले ९ हजार ९४ मत प्राप्त गरे ।

निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा ‘क’ मा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य चन्द्रबहादुर बुढाले काँग्रेसका मञ्जेशबम मल्ललाई ५ हजारा ८ सय ६९ बढी मतले पछि पार्दै विजय हात पारे । बुढाले १७ हजार ४ सय १५ मत पाउँदा मल्लले ११ हजार ५ सय ४६ मत प्राप्त गरे ।

प्रदेश सभा ‘ख’ मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ३ हजार २ सय ६० मत अन्तरले काँग्रेसका जीत शेरचनलाई पराजित गरेका छन् । घर्तीले ११ हजार ८ सय ८४ मत ल्याउँदा शेरचनले ८ हजार ६ सय २४ मत प्राप्त गरे । पहिलो चरणमा निर्वाचन भएको बागलुङमा १ लाख ६७ हजार मतदाता रहेकोमा ६५ प्रतिशत मत खसेको थियो । यस मध्ये ३ प्रतिशतको हाराहारीमा मत वदर भएको बागलुङका निर्वाचन अधिकारी विकाशचन्द्र शर्माले जानकारी दिए ।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा त्यतिबेला जिल्लामा रहेका तीनै सिट जितेको काँग्रेसले नयाँ संविधान अनुसार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आफ्नो विरासत जोगाउन सकेन । जिल्लाका तीन वामपन्थी दलले पहिलो पटक मिलेर चुनाब लडेपछि काँग्रेसको प्रभाव क्षेत्र मानिनै बागलुङमा उसलाई निकै ठुलो मत अन्तर सहित पराजित गरेको हो ।

बागलुङमा २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा भने काँग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेले एक–एक सिट बाँढेका थिए ।

source; naybishwo .com