आर्थिक विकासका लागि सहकारी र सहकारी क्षेत्रमा महिला सहभागिता बढाऔं
- २१ मंसिर २०७४, बिहीबार
- 2045 पटक पढिएको
बागलुङ, २१ मंसिर । देशको अर्थतन्त्र सबल र सक्षम बनाउनका लागि गाउँ गाउँमा सहकारी संस्था र त्यसमा महिलाहरुको अर्थपूर्णं सहभागिता आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । आर्थिक विकासका लागि सबै भन्दा पहिला घर बलियो हुनुपर्छ, घर बलियो बनाउनका लागि उद्यमशिलता आवश्यक छ, महिलाहरुलाई उद्यमशिल बनाउन सकियो भने मात्रै आयआर्जन बढ्ने भएकाले महिलालाई सक्षम बनाउन आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
बागलुङ नगरपालिका वडा नं ८ सिगाना स्थित रानीभूमे महिला विकास बहुउद्देश्यीय सहकारी संंस्था लिमिटेडले बिहीवार आयोजना गरेको एक दिने सहकारी सचेतना कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । महिलाहरुमा रहेको श्रम, शिप र पूँजिलाई परिचालन गरी थप आयआर्जन गर्न र समाजको आर्थिक विकाससंगै सामाजिक रुपान्तरणका लागि राज्यको स्पष्ट नीति आवश्यक रहेको संस्थाका अध्यक्ष चित्रकला खड्काले बताउनुभयो ।
सहकारी मार्फत महिलाहरुले वचत संकलनको अभियानलाई प्रभावकारी बनाएका छन्, महिलाहरुसंग रहेको पूँजि परिचालन गरी थप आयआर्जनका कार्यक्रम राज्य लगायत सरोकारवालाहरुले बनाउन सके आर्थिक विकासमा थप योगदान गर्न सकिने खड्काको भनाइ छ । सहकारी भनेको केवल पैसा लिने र दिने मात्रै हो भन्ने धेरैको बुझाई छ, सहकारीले समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणमा उल्लेख्य योगदान गरेको संस्थाका सामाजिक परिचालक सुशिला पन्तले बताउनुभयो ।
कार्यक्रममा बानपा ८ का वडा अध्यक्ष जीत बहादुर जिसी राजनले महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सामाजिक रुपमा सवल बनाउनका लागि सहकारी माध्यम उपयुक्त हुने धारणा राख्नु भयो । उहाँले महिलाहरुलाई हरेक क्षेत्रमा अगाडि ल्याउनका लागि वडा कार्यालयको तर्फबाट सक्दो पहलकदमी गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सहकारी अवधारणा अनुसार समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणका बारेमा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले स्थानीय स्तरमा रहेका स्रोत र साधनको अधिकतम उपयोग गरी आयआर्जन बढाउन र वचत गरी सुन्दर भविष्य निर्माणका लागि सहकारी उपयुक्त माध्यम भएको बताउनुभयो । उहाँले सहकारीले ग्रामिण क्षेत्रको जनजीवनलाई प्रभावकारी बनाउनका लागि सहकारी क्षेत्रको प्रवद्र्धनमा जोड दिनुभयो । ५ सय जना महिलाहरु शेयर सदस्य रहेको संस्थामा ४५ लाख शेयर रकम, १० लाख कोष, ७५ लाख बचत र १ करोड २० लाख लगानी रहेको संस्थाका प्रवन्धक कमला कार्कीले जानकारी दिनुभयो ।