वाम गठबन्धनका कार्यकर्तालाई प्रशिक्षण
- ३ मंसिर २०७४, आईतवार
- 1645 पटक पढिएको
म्याग्दी,३ मंसिर । यही मंसिर १० गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चुनावी गठबन्धन र त्यसपछि पार्टी एकताको घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रद्वारा आइतबार म्याग्दीको सदरमुकाम बेनीमा वाम गठबन्धनका कार्यकर्तालाई प्रशिक्षण दिइएको हो ।
कार्यकर्ता प्रशिक्षणको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य मानबहादुर बुढामगरले किसान, मजदुर र समाजमा पिछडिएका वर्गको मूक्तिका लागि वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए । माओवादी केन्द्रको म्याग्दी जिल्ला इन्चार्ज समेत रहेका बुढामगरले नेपालमा भएका हरेक आन्दोलनको नेतृत्व कम्युनिष्ट पार्टीहरुले गरेको बताउँदै कांग्रेसले लोकतन्त्रको रक्षा गर्न नसक्ने भएको हुँदा देशको स्थायित्वका लागि वामपन्थीले जित्नुको विकल्प नभएको बताए ।
पूर्व सांसद तथा नेकपा एमालेका नेता नवराज शर्माले आफ्नो कार्यकालमा जिल्लामा विकास निर्माणले तिब्रता पाएको बताउँदै जिल्लाको समग्र क्षेत्रको विकासका लागि वाम गठबन्धनले जित्नुपर्ने बताए । उनले विगतमा पनि जिल्लाको विकास कम्युनिष्टले गरेको इतिहास कायम रहेकोमा जोड दिँदै थप विकास र म्याग्देली जनताको जीवनस्तर उकास्नका लागि वाम गठबन्धनको आवश्यकता रहेको बताएका छन् ।
आइतबार दिनभर सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदी र लेखा आयोग कमिटी संयोजक चन्द्रकुमार केसीले कम्युनिष्ट पार्टीको स्थापना, कम्युनिष्ट पार्टीका सरकारले गरेका सामाजिक परिवर्तनहरु, माक्र्सवाद, लेनिनदवाद, जनताको बहुदलिय जनवाद, एमाले र माओवादीको वाम गठबन्धन, पार्टी एकता, आसन्न निर्वाचन र कार्यकर्ताको भूमिका लगायतका विषयमा सहजीकरण गरेका थिए ।
एमाले बेनी नगर कमिटी संयोजक प्रमोद श्रेष्ठको अध्यक्षता, पार्टीका उपाध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख देवेन्द्र केसीको स्वागत र बेनपा–८ का वडा सचिव लिलाराम गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य दिपक कार्की (बिखर्ची) र रघुगंगा गाउँपालिका–२ राखुभगवतीका वडाध्यक्ष रिम कटुवालले मन्तव्य राखेका थिए । कार्यक्रममा बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका २ सयजना कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।