​प्रधानमन्त्रीले जनजाति अगुवालाई भने- ‘यथास्थितिमा संविधान संशोधन विधेयक पारित हुँदैन’

  • १९ फाल्गुन २०७३, बिहीबार
  • 2169 पटक पढिएको

nn

काठमाडौं, १९ फागुन । काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक पारित हुने अवस्था नरहेको बताएका छन्।

नेपाल आदिवासी, जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भने ‘हिजो मैले सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरेँ, राप्रपाका साथीहरुले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न सक्दैनौं भनेर प्रष्ट भाषामा भन्नुभएको छ, प्रस्ताव मतदानमा गयो भने विपक्षमा मतदान गर्ने उहाँहरुको प्रष्ट कुरा छ । यति कुरा जान्दाजान्दै मतदानमा जाँदा संशोधन प्रस्ताव पारित हुँदैन, फेल हुन्छ । त्यसले समस्या समाधान होइन, झन् बल्झाउँछ, त्यसैले अलिकति समय लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुन्छ।’

अहिलेको संविधान मान्दैनौँ भन्दा मुलुक उल्टो दिशातिर जानसक्ने खतरा औल्याउँदै प्रधानमन्त्रीले भने ‘संविधान जारी गर्ने बेला मेरो पार्टीले पनि आठ बुँदे असहमति दर्ज गरेको छ । तर, अहिलेको संविधान पनि मान्दैनौँ भनेर हामी नै यो संविधानविरुद्ध लाग्दा त्यसको परिणाम के होला ? तपाईहरु सोच्नुहास्, भुइँको टिप्न खोज्दा पोल्टाको खस्नु हुँदैन । अहिलेको संविधान खारेज भयो भने २०४७ को संविधान आउने खतरा रहन्छ । के तपाई हामीले चाहेको त्यही हो त ? होइन भने अहिले प्राप्त गरेका अधिकारलाई जोगाउँदै अगाडि बढ्नु राम्रो हुन्छ।’

सरकार जनजाति अधिकारको पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले आदिवासी जनजाति प्रतिष्ठान खारेज नहुने बताए। स्थानीय तहको पुनःसंरचनाले धेरै अधिकार संस्थागत गरेको भन्दै जनताको अधिकार पुनःसंरचनाले समेट्ने बताए।

भेटमा आदिबासी जनजातिका प्रतिनिधिहरुले आदिबासी जनजाति उत्थान प्रतिष्ठान यथावत राख्न, जनजाति मन्त्रालय गठन गर्न, स्थानीय तहमा स्वायत्त, संरक्षित र विशेष क्षेत्रको व्यवस्था गर्नमाग गरेका थिए। यस्तै, आदिवासीको अधिकार स्थापित हुनेगरी संविधान संशोधन गर्न, स्थानीय तहको सीमा निर्धारण गर्दा पहिचान जडित क्षेत्रलाई खण्डित नगर्न र स्थानीय तहको निर्वाचनअघि राजनीतिक सहमति जुटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

-पहिलोपोस्ट